करेन्ट लागेर घाइते भएका उपाध्यायको अस्पताल लैजाँदै गर्दा मृत्यु

दुल्लु खबर
१ चैत २०८० १६:५८

जुम्ला — जुम्ला तातोपानी गाउँपालिका-४ गिडीखोलाका ३५ वर्षीय कालीप्रसाद उपाध्यायको विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ । गिडीखोलास्थित जालपादेवी विद्युत आयोजनाका संस्थापक अपरेटरका रुपमा कार्यरत उपाध्याय बुधबार साँझ करेन्ट लागेर घाइते भएका थिए ।

वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार मृतक उपाध्याय विद्युतको ट्रान्सफर्मरमा झुन्डिएको अवस्थामा भेटिएका थिए । ‘स्थानीयले देखेपछि मात्र करेन्ट लागेर झुन्डिएको थाहा पाइयो,’ उनले भने ।

करेन्ट लागेर घाइते उपाध्यायलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

उनी पर्थेनी घट्टेगाडस्थित ७५ केभीको ट्रासफर्मरमा चढेर बिजुली बनाइरहेका थिए । त्यही बेला उनलाई करेन्ट लागेको स्थानीयले बताएका छन् । वडाध्यक्ष रोकायाले भने,‘पौने ६ बजेतिर ट्रान्सफर्मरमा चढेका उपाध्याय झुन्डिएको अवस्थामा स्थानीयले देखेपछि सबैले थाहा पाए । तत्काल उपचारको लागि अस्पताल पुर्‍याउनले प्रयास भएपनि बचाउन सकेनौं ।’

विद्युत आयोजनाको स्थापनाकालदेखि नै कार्यरत उपाध्यायको मृत्युपछि तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई, विद्युत आयोजनाका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, वडाध्यक्ष अमरबहादुर रोकायाले दुःख व्यक्त गरेका छन् । अरुलाई उज्यालो दिने त्रममा आफ्नो परिवारलाई अध्यारोमा पारेको भन्दै दुःख व्यक्त गरिएको हो ।

विद्युत आयोजनाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बिजुली बनाउने क्रममा करेन्ट लागेर मृत्यु भएका उपाध्यायको योगदान सधैं स्मरणीय हुने बताए ।


धेरै पढिएको

बराङ जादा सूटुक्क गए

१२ वैशाख २०८१ १६:५६

भोलि सार्वजनिक बिदा

१० वैशाख २०८१ १५:०९