तरकारी बोक्ने गाडीबाट ५४४ केजी गाँजा बरामद

दुल्लु खबर
२६ चैत २०८० १६:२४

धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारबाट प्रहरीले तरकारी बोक्ने गाडीबाट ५ सय ४४ केजी गाँजा बरामद गरेको छ ।

धनकुटाबाट धरानतर्फ सब्जी लिएर जाँदै गरेको को १ ख ३२९४ नम्बरको मिनी ट्रक चेकजाँचका क्रममा आइतबार राति प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो । तरकारीको बोराभित्र १८ वटा पोकामा राखिएको गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवन कार्कीले जानकारी दिए ।

मिनीट्रक प्रहरीको नियन्त्रणमा छ । शंकास्पद रहेको गाडी चेक गर्ने क्रममा चालक फरार भएपछि खोजतलास गर्दा फेला पर्न नसकेको कार्कीले बताए । उनको खोजी कार्य जारी रहेको बताइएको छ । गत महिना पनि भेडेटारबाट पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर तथा अटोलगायतका सवारी साधनबाट समेत ठूलो परिमाणमा गाँजा बरामद गरिएको प्रहरीको भनाइ छ ।