जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार गाडी धादिङमा दुर्घटना

दुल्लु खबर
२६ चैत २०८० १६:२५

काठमाडौँ — जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ । पूर्वमन्त्रीसमेत रहेका खान र निजी सचिवालयका सदस्यहरू चढेको गाडी सोमबार धादिङको कृष्णभिरमा दुर्घटनामा परेको हो ।

काठमाडौंबाट बर्दिया जाने क्रममा खान सवार गाडी दुर्घटनामा परेको हो । खानका स्वकीय सचिव अतिउल्लाह मुसलमानका अनुसार अर्को जिपलाई जोगाउने क्रममा भित्तामा ठोक्किन पुगेको हो । दुर्घटनामा खानसहित चालक, स्वकीय सचिव र कम्प्युटर अपरेटर घाइते भएका छन् ।

स्वकीय सचिव मुसलमानका अनुसार सांसद खानको देब्रे हात फ्य्राक्चर भएको छ । त्यस्तै उनको दाहिने हातको औंलामा पनि चोट लागेको छ । आफ्नो भने खुट्टा र कम्मरमा चोट लागेको स्वकीय सचिव मुसलमानले बताए । त्यस्तै चालकको छातीमा र कम्प्युटर अपरेटर अनवर खानको टाउकोमा चोट लागेको छ ।

अहिले आफूहरू दुर्घटनास्थलबाट एम्बुलेन्समार्फत काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आउँदै गरेको उनले बताए ।