कर्णाली प्रदेश खेलकुद परिषद्का पदाधिकारीले लिए शपथ ।
२०८१ पुस ४ गतेदेखि रिक्त रहेको सदस्य-सचिव पदमा चन्द नियुक्त भएका हुन्।
चैत १६, सुर्खेत । कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव रविन्द्र चन्दले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री घनश्याम भण्डारीले उनलाई शपथ ग्रहण गराएका हुन्।
प्रदेश मन्त्रिपरिषद्को गत चैत १२ गते बसेको बैठकले चन्दलाई परिषद्को दोस्रो सदस्य-सचिवका रूपमा नियुक्त गरेको थियो। सोही अवसरमा परिषद्का उपाध्यक्ष प्रमोद हमालसहित सदस्यहरू पवनकुमार थापा, पंखबहादुर मल्ल, भीमाकुमारी भुसाल, गोर्खबहादुर शाही र किरण किशोर सापकोटाले पनि शपथ लिएका छन्।
२०८१ पुस ४ गतेदेखि रिक्त रहेको सदस्य-सचिव पदमा चन्द नियुक्त भएका हुन्।
यसअघि सदस्य-सचिव छनोटका लागि गठित समितिले माघ ३ गते अन्तर्वार्ता लिएर तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो। सिफारिस सूचीमा रहेका रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमालमध्ये मूल्यांकनमा चन्दले सर्वाधिक ६७.१७ अंक प्राप्त गरेका थिए। दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक प्राप्त गरेका थिए।
सदस्य-सचिव पदका लागि प्रारम्भमा २१ जनाले आवेदन दिएका थिए, जसमध्ये १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो।

प्रतिक्रिया दिनुहोस