सवारी दुर्घटनामा चार जनाको ज्यान गयो, चार मृत फेला

दुल्लु खबर
१२ माघ २०८० १३:०७

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकमा बा.३ क १७४५ नम्बरको टिपरले बा.प्र ०२-०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका-५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको छ।

 

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काभ्रेको बनेपा नगरपालिका-७ धनेश्वर पुलमा पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा.७० प ३७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-८ बस्ने २३ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो।

रूपन्देहीको ओमसतिया गाउँपालिका-२ स्थित सडकमा लु.७६ प ८०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक पाल्पा रैनादेवी गाउँपालिका-१ छहरा बस्ने ३२ वर्षीय राम प्रसाद खनालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।

धनुषाको मिथिला नगरपालिका-१० लालगढस्थित सडकमा ना.६ ख २३७३ नम्बरको ट्रकको ठक्करबाट भक्तपुर मध्यपुर ठिमी नगरपालिका-२ बस्ने ७६ वर्षीया मेनका बर्तौलाको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृत अवस्थामा फेला

मोरङको ग्रामथान गाउँपालिका-७ धोबियारे बस्ने ३६ वर्षीय भागेश्वर विश्वास आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका-८ सेती नदीको किनारमा सोही नगरपालिका-८ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-३ घर भएका ४१ वर्षीय किरण कुमार चौधरी थारू बिहीबार मृत अवस्थामा फेला परेका छन्।

पर्वतको मोदी गाउँपालिका-५ बाजुङस्थित ओख्लेको जङ्गलमा कुश्मा नगरपालिका-३ दुर्लुङ सल्यान बस्ने ३९ वर्षीय बिष्णु कामी बिहीबार मृत अवस्थामा फेला परेका छन्।

स्याङ्जाको हरिनास गाउँपालिका-४ वाङगेश्वरास्थित जंगलमा सोही गाउँपालिका-७ चाङसिङ बस्ने ८१ वर्षीय झक बहादुर थापा बिहीबार मृत अवस्थामा फेला परेका छन्।