बालकका आफन्तको प्रदर्शनले घोराही-लमही सडक अवरूद्ध

दुल्लु खबर
१ चैत २०८० १६:४९

दाङ — उपचारका क्रममा बालकको मृत्यु भएपछि आफन्तले बिहीबार दिउँसो घोराही-लमही सडक अवरूद्ध पारेका छन् ।

राजपुर गाउँपालिका-१ पटौली नाकाका ९ वर्षीय बालक सुरेश कुँवरको घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा बुधबार मृत्यु भएको थियो । त्यसपछि अस्पताल अगाडि र ट्राफिक चोकमा मृतकका आफन्तहरू बसेर यातायात अवरूद्ध गरेका छन् ।

घाँटीमा समस्या भएपछि अस्पताल ल्याइएका बालकको डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल घेराउ गरिरहेका छन् । अहिले मृतकका आफन्त, अस्पताल प्रशासन र सरोकारवालाबीच जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए ।