भोजपुरको हतुवागढीमा आगलागी : एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु

दुल्लु खबर
४ चैत २०८० १०:४१

विराटनगर — भोजपुरको हतुवागढी ७ पिप्लेमा शनिबार आगलागी हुँदा एकाघरका तीन बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भोजपुर नगरपालिका १२ टक्सार माल्वासेमा शुक्रबार आगलागीपछि उद्धारमा खटिँदै सुरक्षाकर्मी । हावाहुरीको कारण बनको लागेको डढेलो बस्तीमा पस्दा आठ घर जलेर नष्ट भएका छन् । तस्बिर : युवराज विष्ट / रासस

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुँवर खापुङका अनुसार केदार कार्कीको गोठमा दिउँसो आगलागी हुँदा त्यहाँ खेलिरहेका एकै परिवारका ७ वर्षीया दिपशिखा कार्की, ५ वर्षीय प्रनिश कार्की र ३ वर्षीय दियुनिष कार्कीको जलेर मृत्यु भएको हो । मृतक बालबालिका केदार र उनका भाइ रमेशका छोराछोरी भएको खापुङले बताए ।

आगलागीको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच शनिबार नै भोजपुरकै टक्सार बजारमा आगलागी हुँदा ७ घर र १० गोठ जलेको प्रहरीले बताएको छ ।