अस्पतालमा बालकको मृत्युबारे छानबिन समिति गठन

दुल्लु खबर
२ चैत २०८० १४:३३

दाङ — घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा राजपुर गाउँपालिका–१ पटौली नाकाका नौ वर्षीय बालक सुरेश कावरको उपचारका क्रममा मृत्यु भएको विषयमा छानबिन गर्न समिति गठन भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय, सर्वपक्षीय बैठकबाट घटनाबारे सत्यतथ्य पत्ता लगाउन लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको हो । छानबिन समितिमा नाक, कान, घाँटी रोग विशेषज्ञ तीन जना, जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका र पीडित पक्षका एक/एक प्रतिनिधि सदस्य छन् ।

बैठकमा अस्पताल र पीडित पक्षबीच आपसी समझदारी भएपछि परिवारले मृतकको शव बुझी पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगेको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताइन् । सहमतिपछि बुद्ध हस्पिटलबाट शव बुझी शुक्रबार बिहान प्रतिष्ठानमा पोस्टमार्टमको तयारी भइरहेको मृतकका बुवा शालिकराम कावरले बताए ।

घाँटीमा समस्या भएपछि उपचारका लागि बुधबार बिहान अस्पताल आएका बालकको उपचारका क्रममा मृत्यु भएको थियो । डाक्टरको लापर्बाहीका कारण बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तहरु आन्दोलित भएका थिए । आन्दोलनका क्रममा बिहीबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले अस्पतालमा ढुंगामुढा गरी क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

झडपका क्रममा अनेरास्ववियूका नेता विशाल पुन मगरलाई प्रहरीले निर्मम कुटपिट गरेको भन्दै अनेरास्ववियूले आपत्ति जनाएको छ । शुक्रबार बिहान घोराहीमा पत्रकार सम्मेलन गरी अनेरास्ववियूले प्रहरीले अत्यधिक दमन गरी घाइते बनाएको भन्दै घटनाको भर्त्सना गरेको छ ।