प्रधानमन्त्री कप ट्वान्टी- २० क्रिकेट: कोसीद्वारा सुदूरपश्चिम पराजित
काठमाडौं- प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोसी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ ।
सुदुरपश्चिमले दिएको एक सय १९ रनको लक्ष्यलाई कोसी प्रदेशले १७ दशमलव ४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । कोसीको जितमा काजल श्रेष्ठ र कप्तान रुविना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरिन् ।
काजलले ४८ बलमा आठ चौकाको मद्दतमा ५४ रन बनाइन् भने रुविनाले ५५ बल खेल्दै आठ चौकाको मद्दतमा ५१ रनको योगदान गरिन् । विमला मलाहले ४ रन जोडिन् । सुदूरपश्चिमकी अनु कठायतले दुई विकेट लिइन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनाएको थियो । सुदूरपश्चिमको लागि विन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् ।
त्यसैगरी, सम्झना खड्काले २७ रन जोडिन भने कविता जोशीले २६ रन बनाइन् । रेवती धामीले २० तथा रुवी पोडारले २ रन बनाइन् ।
बलिङतर्फ कोसी प्रदेशकी सबनम राई र अपसरी बेगमले समान एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस