घाटबेंसी बस दुर्घटना [अपडेट] : मृतकको संख्या ७ पुग्यो

दुल्लु खबर
२३ फागुन २०८० १०:४१

धादिङ — धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा  मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको  यात्रुवाहक बस पृथ्वीराजमार्गको घाटबेंसी भन्ने ठाउँबाट बुधबार बिहान त्रिशूली नदीमा खसेको थियो  ।

दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।

प्रहरी उपरीक्षक केसीले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए। उनले भने, ‘घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।’

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।