“म पनि झोले”
जब म झोलाबाट फाइल खोल्छु म केवल मुद्दा मात्र कहाँ पढ्छु म पीडा पढ्छु, आँसु पढ्छु
मेरो झोला
साधारण देखिन्छ
तर त्यो कागजका पानाले होइन
पीडितहरुका पीडा, चोट र घाउँले भरिएको छ ।
त्यसमा छन्
एक बलात्कृत पीडितको चिच्याएको मौनता
एक शोषित, हिँसामा रोमालिएको निवेदन
एक वृद्ध आमाले छोराको लोभमा हराएको अधिकार छ।
म यो झोला बोकेर
हरेक दिन अदालत धाउँछु
कहिले गम्भीर आँखाले हेर्छु ईजलासलाई
कहिले चिच्याउन खोज्छु कानुनी दफाको बलमा।
म सरकारी वकील हुँ
तर म सरकारको मात्र होइन
झोला भित्र रोमालिएका, हरेक घाउँको प्रतिनिधि हुँ।
मसँग कानूनको किताब छ
दफा देखि उपदफा, नियम देखि उपनियम सम्म
तर म उभिएको इजलासको छेउमै
सपना टुटी, न्यायको आशा बोकेको पीडित पनि राखेको छु।
जब म झोलाबाट फाइल खोल्छु
म केवल मुद्दा मात्र कहाँ पढ्छु
म पीडा पढ्छु, आँसु पढ्छु
अनि उत्तरदायित्व सँगै मेरो कर्तव्य बोक्छु।
हो मलाई पनि झोले बन्न मन छ
मेरो झोला हलुका छैन
यो झोला
न्यायको बाटोमा हिँड्नेहरूका लागि हो
यहि झोला भित्र,एक गह्रौं तर पवित्र
स्वार्थ लुकेको कर्तव्य निष्ठा छ
त्यसैले म पनि झोले हुँ, झोले हुँ।।
उपन्यायाधिवक्ता
उच्च सरकारी वकील कार्यालय बुटवल ।

प्रतिक्रिया दिनुहोस