मेरो देखाईमा गुरू स्वामी श्री चेतनानन्द गिरी ज्यू,
राष्ट्रपतिद्वारा, शिक्षाको लागि राष्ट्रिय सम्मान प्रदान गर्ने भनी पत्र पठाउदा समेत उहाँले अनिच्छा देखाउनु भएको थियो।
२००६ साल माघमा ६ जना अवधूत सन्यासीहरू पंचकोशी ज्वाला क्षेत्रमा आएर पाँचै थानमा बसेको र एक जना चन्दननाथ जुम्ला गएका कुरा हामीले आफ्ना अग्रजहरूबाट सुनेका हौं। दैलेखको तल्लो डुंगेश्वरमा बसेर शुल्क युजुर्वेद सस्वर पठाउनुहुने आर्इतबार गिरीज्यू र धुलेश्वरमा बसेर, संस्कृत अंग्रेजी, गणित विज्ञान, राजयोग र हठयोग शिक्षा दिनुहुने स्वामी श्री चेतनानन्द गिरीज्यू ती मध्ये ज्याँदै प्रसिद्ध हुनुभयो। स्वामीजीले दुल्लू क्षेत्रलाई केन्द्र बनाएर जुम्ला चन्दननाथ, राराकाटिया, कालिकोट, जम्बुकाँध, विसल्ला बाँसठाना, डाडीमाडि, छड्ने कोइरालागाउँ, सुर्खेतको सिम्ता, गुमी आदि स्थानमा शिक्षाको प्रकाश छर्नु भयो। त्यो समयमा अलजेब्रा ज्यामिति तथा फिजिक्स जस्ता विषयको प्रारम्भिक ज्ञान म लगायत हजारौंले उहाबाटै पायौं। स्वंयम् योगाभ्यासी स्वामीजीले अनेकौंलाई योग र अध्यात्मको समेत शिक्षा दिनुभएको छ। राजनीतिक रूपमा उहाँ बहुदलीय प्रजातन्त्रको पक्षधर रहेकोले पञ्चायतकालभर उहा तत्कालीन शासन प्रशासनको तारो बनिरहनुभयो। सबै दल, पार्टी र विचारका जनपक्षीय चरित्रवान् व्यक्तिहरूलाई आदर गर्ने सदमार्गमा जनसेवाका प्रेरणा दिने गरेको पनि हामी बिर्सन सक्दैनौं।
२०२२(०२३ सालतिर मेरो जेठो मामा खगराज ज्ञवाली र मेरा पिताजी नवराज उपाध्यायले यौटा कुटी निर्माण गरी कोइराला गाउँमा निवास गराउनुभयो, त्यही मेरो पनि प्रारम्भिक शिक्षा प्रारम्भ भएको हो। उहाँकै अनुशासन र निर्देशनमा म लगायत सैकडौं छात्र(छात्राहरूले नेपालमा र भारतका विभिन्न विद्यालयहरूमा गएर विविध विषयको शिक्षा गरेका हौं। २०४९(५० सालतिरबाट उहाले दैलेखको निवास छोडी सुर्खेत लाटीकोइलीको समानमा आएर बसोबास गर्नुभयो। उहाँलाई दैलेख फिर्ता लिएर जान म स्वंयम् आएर अनुरोध गरेँ। उहाँले माननीय इन्द्रबहादुर जिसि र जिमिदार पुराना बुडाहरू आदिसँग आफ्नो २००६ साल पूर्व देखि नै राम्रो सम्बन्ध रहेको आफुलाई यहाँ नै जीवनके उत्तरार्ध बिताउने इच्छा रहेको भनेर फर्कनुभएन। त्यसपछि २०७१ साल भाद्र २५ गते साँझ ५(२५ मि। सम्म उहाँले यही समाजमा रहेर समाधि लिनुभयो।
यहाँ यौटा घटना पनि स्मरणीय छ २०७०।१०।१० गते उहाँले मलाई बोलाएर आफु दण्डि स्वामी हुँदा हुँदै प्रारब्धबस योग भ्रष्ट, पथ भ्रष्ट भएको र प्रायश्चित कुनै बाटो भए भन्न आग्रह गर्नुभयो। त्यसको तीन दिनपछि १३ गते मैले सप्रमाण पुनः योगासन हुने विधि देखाएँ। सोही अनुसार उहाँले सम्त दिवसीय निराहार व्रत, आत्म श्राद्ध र विरजा होम सम्पन्न गरेर पुनः त्रिदण्ड ग्रहण गर्नुभयो। यो प्रायश्चित अनुष्ठान गरेको ७ मिहना १२ दिनपछि उहाँले पाञ्चभौतिक देह त्याग गर्नुभयो।
मेरो जीवनभरको अनुभवमा स्वामीजी एक ज्ञानी, अवधुत, सर्वहितैषी संन्त, शिक्षालाई लोक कल्याणमा प्रयोग गर्ने गुरू र समदर्शी त्यागी महात्मा भएको पाएको छु। उहा सँग मेरा अनेक सम्बन्ध रहेपनि अन्त्य सम्म नै गुरू शिष्य सम्बन्ध नै रह्यो।
राष्ट्रपतिद्वारा, शिक्षाको लागि राष्ट्रिय सम्मान प्रदान गर्ने भनी पत्र पठाउदा समेत उहाँले अनिच्छा देखाउनु भएको थियो। पछि म लगायत केही मित्रहरूले विशेष आग्रह गरेपछि मात्र उहाँले त्यो सम्मान र विभुषण ग्रहण गर्न तयार हुनुभयो। जीवन जगत र जगदिश्वरको गहिरो ज्ञान राख्ने गुरू स्वामी चेतनानन्द गिरीज्यू प्राति शतशः नमन।
(लेखक) पं तिलक प्रसाद उपाध्याय रिजाल दुल्लू , भैरवी गा।पा। वडा नं। २, हुमेगाउँ , दैलेख को हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस