लुम्बिनीमा त्रिपिटक च्यान्टिङ

दुल्लु खबर
२० फागुन २०८० १७:४४

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ आइतबारदेखि सुरू भएको छ । यहाँको पवित्रता र अध्यात्मिकता उजागर गरी शान्ति र भातृत्वको सन्देश फैलाउन त्रिपिटक पाठ गरिएको हो । मायादेवी मन्दिर छेउ पुष्करणी पोखरी दक्षिण सुरु भएको पाठ मंगलबार सकिनेछ ।

विहान ८ बजे शान्ति द्विपबाट शोभा यात्रा थालिएको थियो । पवित्र गन्थ त्रिपिटकलाई सिँगारपटार गरेर अतिथिहरुले बोकेर शोभायात्रा मायादेवी पुगेका थिए । मन्दिर परिक्रमा गरी पाठ स्लथमा शोभायात्रा पुगेको थियो । बाजागाजा, भिक्षु भिक्षुणी र लामागुरुहरु शोभायात्रामा सहभागी रहेका थिए ।

अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा त्रिपिटक च्यान्टिङ गरिएको हो । । च्यान्टिङमा श्रीलंका, थाइल्याण्ड तथा म्यानमारका भिक्षु भिक्षुणीको सहभागिता छ । त्यस्तै भारतका बौद्ध तीर्थस्थल बोधगया, सारनाथ, कुशिनगर, राजगृह र श्रावस्तीका भिक्षु भिक्षुणी आएका छन् ।

कार्यक्रममा श्रीलंका राजदुत सुदर्शना पाथिराना पनि सहभागी थिए । प्रत्येक दिन पाठ बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुन्छ । पहिलो दिन सुत्त पिटक, दोस्रो दिन अभिधम्म पिटक र तेस्रो दिन विनय पिटक पाठ हुनेछ । गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थ त्रिपिटक हो ।

च्यान्टिङको उद्घाटन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । त्रिपिटकले अनुशासन, नियम र बुद्धका शिक्षाको सन्देशलाई बुझाउने भएकाले यसलाई सबैले बुझ्ने गरी नेपालीमा समेत प्रकाशन गर्न आवश्यक रहेको उनले बताए ।