सेबोन अध्यक्षको आवेदन खुल्यो, म्याद माघ ३० सम्म
काठमाडौँ — नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पदका लागि आवेदन खुलेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष सिफारिस समितिले बुधबार आवेदन खुला गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिले मंगलबार अध्यक्ष छनौटको कार्यविधि सार्वजनिक गरेको थियो । सोही कार्यविधिका आधारमा बुधबार आवेदन खुला गरेको हो ।
नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम नाम सिफारिस गर्ने प्रयोजनको लागि गठन भएको समितिले सोही दफाको उपदफा (५) मा रहेको व्यवस्थाबमोजिम कार्यविधि निर्धारण गरेको हो ।
छनोट समितिले अध्यक्ष छनौटका लागि मूल्यांकन आधार पनि तयार गरेको छ । जसअनुसार व्यावसायिक कार्ययोजनामा ४० अंक, शैक्षिक योग्यतामा ४० अंक, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणमा १८ अंक र अन्तरवार्तामा ३० अंक छुट्टयाइएको छ ।
गत पुस २० देखि सेबोनमा अध्यक्ष पद खाली रहेको छ । नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले गत माघ पहिलो साता सिफारिस समिति गठन गरेको थियो । समितिका सदस्यमा अर्थसचिव कृष्णहरू पुष्कर र विज्ञ सदस्यमा उदय निरौला छन् ।

प्रतिक्रिया दिनुहोस