त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५ दिन बन्द हुने !
काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ ले आउँदो वर्षायाम सकिएसँगै अन्तर्राष्ट्रिय उडान नै बन्द गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिक टर्मिनल भवन, एप्रोन, ट्याक्सी–वे लगायतका पूर्वाधार निर्माण तथा बिस्तारको काम गर्नुपर्ने जनाएको छ ।
आयोजनाले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेका ४० वटा वायुसेवाका प्रतिनिधिसँगको छलफलमा निर्माणका क्रममा मुलुककै पहिलो अन्तर्राष्ट्रिय हवाई अड्डालाई ४/५ दिन पूर्ण रुपमा वा आंशिक बन्द गर्नुपर्ने सम्भावना रहेकाले त्यसअनुसार आफ्ना उडानहरूलाई व्यवस्थापन गर्न आग्रह गरेको हो ।
यसपछि काठमाडौं विमानस्थलको निर्माण क्षेत्रलाई समेटेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले तोकेको मापदण्डअनुसार संसारभरका उड्डयनकर्मीहरूको जानकारीका लागि एरोनटिकल इन्फरमेसन पब्लिकेसन (एआईपी) मा नक्सा प्रकाशन गर्नुपर्छ । यसपछि उडान बन्द गर्नुअघि पाइलटहरूका लागि जारी गरिने सूचना नोटाम (नोटीस टु एयरमिन) निकाल्नुपर्छ ।
‘सन् २०१६ मा एशियाली विकास बैंकले तयार पारेको गुरुयोजनाअनुसार विमानस्थलको उत्तरपश्चिममा अन्तर्राष्ट्रियस्तरको जहाज पार्किङ गरिने एप्रोन, अहिलेको धावनमार्गको दुवै विन्दु जोड्न समानन्तर ट्याक्सी–वे निमार्ण तथा विस्तार र जहाजका लागि ह्यांगर क्षेत्र बिस्तार गर्दै दुईटा एप्रोन गरी १५ अर्ब रुपैयाँ बराबरका तीनवटा ठेक्का सञ्चालन भइरहेका छन,’ आयोजना निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठले वायुसेवा प्रतिनिधिहरू समक्ष भने, ‘यी पूर्वाधार विस्तारका लागि वर्षा लाग्नुअघि (अप्रिल १ देखि जुन ३० सम्म) मध्य चैतदेखि ०८१ असार १६ सम्म बेलुकी ११ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल नै बन्द गरेर काम सम्पन्न गर्नुपर्ने छ । यसै सिलसिलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति मात्रै होइन ४/५ दिन पूर्ण रुपमा वा आन्तरिक उडान मात्रै सञ्चालन गरेर बाँकी अन्तर्राष्ट्रिय उडानलाई भैरहवा वा पोखरामा डाइभर्ट गरेर काम गर्नुपर्ने संभावना ज्यादै देखिएको छ ।’
प्राधिकरणले काठमाडौं विमानस्थलको वार्षिक कम्तीमा १ करोड यात्रुलाई सेवा दिलाउने उद्देश्यले सन् २०१६ यता गुरुयोजनाअनुसार भौतिक पूर्वाधार निर्माण तथा विस्तारका काम गर्दै आइरहेको छ ।
अहिले त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ वटा मात्रै अन्तर्राष्ट्रिय उडानतर्फका जेट विमान एप्रोनमा पार्किङ हुन्छ । गुरुयोजना अनुसार सबै काम सम्पन्न भए १६ वटा न्यारोबडी विमान एप्रोनमा यात्रुलाई सेवा दिन सक्ने क्षमताको हुने छ । अहिले ३ किलोमिटर धावनमार्गको दक्षिण र उत्तरमा रहेका दुवै विन्दुलाई जोड्ने ट्याक्सी–वे छैन । अबको डेढ वर्षभित्र भने यी दुवै विन्दुसम्म ट्याक्सी–वे जोडिँदै छ । दुवै विन्दुबाट जहाज पस्न र निस्किन ‘इन्ड–टु–इन्ड ट्याक्सी–वे’ निर्माण भएसँगै धावनमार्गको क्षमता थप वृद्धि हुने छ । ‘गुरुयोजना अनुसार निर्माण कार्य सकिएपछि अहिले जस्तो जहाज पार्किङ अभावले सिमरामाथिको आकासमा जहाज होल्ड गराउनुपर्ने, साना जहाजलाई काठमाडौं बाहिरका विमानस्थलमै होल्ड गराउनुपर्ने समस्या निराकरण हुने छ,’ आयोजना प्रमुख इन्जिनियर श्रेष्ठले भने ।
नेपालमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल नभएकाले ५ वर्षअघि पनि चिनियाँ ठेक्दार कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जिर्णोद्वार गर्दा राति १० देखि बिहान ८ बजेसम्म उडान बन्द गरिएको थियो । यसपटक भने काठमाडौंमा उडान रोक्नुपर्ने अवस्था आइपरेमा भैरहवा र पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान सुचारु गर्न सकिने भएकाले निर्माणका क्रममा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तीन मिटर गहिरो खाल्डो खनेर २०/२५ तहमा माटो पुर्ने काम गर्दा उडान सुरक्षाका कारण विमानस्थल नै बन्द गरेर काम गरिने इन्जिनियरहरूको भनाइ छ ।
‘धावनर्मार्गको केन्द्रबाट ७५ मिटर दायाँबायाँ दुरीमा ३ मिटर गहिरो खाल्डो पुर्नु धेरै संवेदनशील काम हो । स्थान अभावले निर्माण भइरहेको क्षेत्रमा धेरै यन्त्र/उपकरण प्रयोग गर्न नसकिने भएकाले विमानस्थल नै बन्द गर्नुपर्ने हुन्छ कि त साना जहाजमात्रैलाई उडाएर ठूला जेट विमानका लागि विमानस्थल बन्द गर्नुपर्ने हुन्छ,’ श्रेष्ठले भने, ‘यसबारे ठेकेदार कम्पनी, परामर्शदाता र प्राधिकरणका इन्जिनियरहरूले साथसाथै अध्ययन पनि गरिरहेका छन् ।
काठमाडौं विमानस्थलको पूर्वाधारमा मात्रै केन्द्रित आयोजनाले यसअघि पूर्वी भागमा रहेको जहाज पार्किङ क्षेत्रबाट पुराना जहाजलाई अन्यत्र सारेको थियो । एप्रोन निर्माण क्षेत्रमा पर्ने यति र श्री एयरलायन्सका दुईवटा ह्यांगरलाई १५ दिनभित्र भत्काउन भनिसकिएको आयोजनाले जनाएको छ । बुधबारको छलफलमा विमानस्थलमा सञ्चालित तीन फरक आयोजनाका तर्फबाट परामर्शदाताका इन्जिनियरले धावनमार्गसँगै समानान्तर ट्याक्सी–वेको काम थाल्दा जहाजको उडानभार पनि घटाउन भनेका थिए । धावनमार्गको दुरीअनुसार वायुसेवाले यात्रु, कार्गो र तेलको तौल घटाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस