फेसबुक एकाउन्ट ह्याक हुँदा प्रदेश सभासदस्य तिम्सिनालाई तनाव

दुल्लु खबर
६ पुष २०८० १३:२८

माेरङ – नेकपा माओवादी केन्द्रकी प्रदेश सभासदस्य गीता तिम्सिनाले सामाजिक सञ्जाल फेसबुक एकाउन्ट ह्याक भएको जानकारी कोसी प्रदेश सभालाई गराएकी छिन्।

बुधबार विराटनगरस्थित प्रदेशसभाको चौथौ अधिवेशनको अठारौं बैठकअन्तर्गत शून्य समयमा प्रदेश सभासदस्य तिम्सिनाले आफ्नो फेसबुक एकाउन्ट ह्याक भएको हुँदा समस्या भएको जानकारी गराएकी छन्।

सात–आठ दिनदेखि फेसबुक ह्याक हुँदा गलत प्रयोगका लागि रकम माग्दै संकलन गर्ने कार्य भएको बताएकी प्रदेश सभासदस्य तिम्सिनाले भनिन्, ‘मेरो फेसबुक ह्याक भएको छ। यस क्रममा मेरो साथी र मान्यज्यूहरुलाई रकम माग गरिएको रहेछ। जसमा केहीले क्यूआरमार्फत करिब ८० हजार रुपैयाँ भुक्तान भएको देखिएको छ।’

प्रदेश सरकारलाई जानकारी गराउँदै तिम्सिनाले एकाउन्ट ह्याक भएपछि हाल सो एकाउन्ट ब्लक गर्न नसकेको प्रस्ट्याइन्। उनले भनिन्, ‘सरकारको नियन्त्रण बाहिर रहेको सामाजिक सञ्जालको समस्या भोग्नु परेको छ। बाहिर सर्वसाधारणले सांसदकै अवस्था यस्तो छ, हाम्रो त के होला र भन्ने ब्यङग्यात्मक भनाई सहनु परेको छ।’

प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको भन्दै उनले समाजिक सञ्जाल नियन्त्रण बाहिर रहेको र सचेतनाका लागि सभामा जानकारी गराएको बताइन्। तिम्सीना सुनसरीबाट नेकपा माओवादी केन्द्रतर्फबाट समानुपातिक प्रदेश सभासदस्य हुन्।