सहकारी पीडितहरुले आज काठमाडौंका पाँच स्थानबाट प्रदर्शन गर्ने

दुल्लु खबर
१ चैत २०८० ११:२७

१ चैत, काठमाडौं । काठमाडौंमा भेला भएका सहकारी पीडितले आज प्रदर्शन गर्ने भएका छन् । देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरुले विभिन्न पाँच केन्द्रविन्दुबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गर्ने कार्यक्रम तय गरेका छन् ।

प्रदर्शन गर्नका लागि कालिमाटी, गोंगबु नयाँबसपार्क नजिकको बिजी मल, शंखपार्क, सिफल चौर र जावलाखेल केन्द्रविन्दु तोकिएको छ । ती पाँच स्थानबाट बिहान ११ बजे पैदलमार्च सुरु गर्दै पीडितहरु सुन्धारामा भेला हुने छन् । सबै टोली सुन्धारामा भेला भएर भृकुटीमण्डप पुग्ने र कोणसभा गर्ने कार्यक्रम तय भएको छ ।

सहकारी पीडितहरुको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले गरेको छ । महासंघका अध्यक्ष कुशलभ केसीले आफूहरुले सरकार समक्ष राखेका माग आज सम्बोधन नभए सबै पीडितहरु सहकारी विभागमा गएर बस्ने चेतावनी दिए ।

‘विगतमा सहकारी मन्त्रीले चैत मसान्तभित्र सबै सहकारी पीडितहरुको सावाँब्याज फिर्ता गरिसक्ने भन्नु भएको थियो । तर अहिलेसम्म फिर्ता नभएकाले हामीहरु आन्दोलनमा उत्रिन बाध्य भएका छौं,’ महासंघका अध्यक्ष केसीले भने, ‘आजसम्म पनि माग सम्बोधन भएन भने काठमाडौंमा भेला भएका हामीहरु सबैजना सहकारी विभागमा प्रवेश गर्ने छौं र त्यहीँ पकाउने, खाने गर्दै प्रदर्शनलाई निरन्तरता दिने छौं ।’ सहकारी पीडितका केही प्रतिनिधिहरु सहकारी विभागमा अनशन पनि बस्दै आएका छन् ।


धेरै पढिएको