प्रदेश प्रहरी अस्पताल उद्घाटनको माग गर्दै सर्वदलीय बैठक, आन्दोलनको चेतावनी

दुल्लु खबर
५ पुष २०८० १३:०४

सुनसरीको इनरुवामा प्रदेश प्रहरी अस्पताल उद्घाटन गर्नेगरी थालिएको तयारी बिथोल्ने काम भएको भन्दै जिल्ला स्थित राजनैतिक दलहरूले भर्त्सना गरेका छन् ।

नेपाली काँग्रेसको पार्टी कार्यालय इनरुवामा बसेको सर्वदलीय बैठकले सञ्चालन तयारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल अविलम्ब उद्घाटनको माग गरेको छ ।

सर्वदलीय बैठकले चार वर्षअघि नै प्रदेश प्रहरी अस्पताल इनरुवामै रहने सहमति बमोजिमको प्रक्रिया अघि बढाइएको विषयलाई जोड्दै अस्थायी रुपमा अन्यत्र गएको भनेको छ ।

बैठकले अस्थायी रुपमा बेलबारीबाट सेवा थाल्दै आएको प्रदेश प्रहरी अस्पताल स्वयंले उपयुक्त स्थान र दाता खोजीका क्रममा जिसस सुनसरीले उपलब्ध गराएको संरचना उपयुक्त ठानी सेवा बिस्तारका लागि रोजेको स्पष्ट पारेको छ ।

प्रहरीको प्राविधिक टोलीसहित कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला सहितको टोलीले दुवै तर्फका पूर्वाधार संरचनाको अध्ययन गरी इनरुवा उपयुक्त ठहर गरेको दलको ठहर छ ।

पूर्वपरिपत्र र सूचनाका आधारमा बेलबारीबाट अस्पताल इनरुवा सारिएको दाबी गरेका सुनसरीका दलीय अगुवाहरूले राजनैतिक आडमा अस्पताललाई इनरुवाबाट हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

सर्वदलीय बैठकले इनरुवामा उद्घाटन तयारी अवस्थामा रहेको अस्पतालको विषयमा विवाद सृजना गराउने काम भएको भन्दै अस्पताल संरक्षणका लागि आफूहरू सडक सङ्घर्षमा उत्रन समेत तयार रहेको जनाएको छ ।

सर्वदलीय बैठकको नेतृत्व गरेको नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारीले प्रहरीले नै इनरुवा रोजेको अस्पताल जबरजस्ती अन्यत्र लैजान खोजिए सुनसरीका दल आन्दोलनमा उत्रिने बताए । उनले सृजित घटनाक्रमलाई केन्द्रीय तहबाटै निष्पक्ष छानबिन टोली गठन गरी सुल्झाइनुपर्ने माग राखे ।

यता, जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताले प्रहरीको प्राविधिक टोलीले उपयुक्त ठहर गरी सञ्चालनका लागि स्रोत साधन जुटाई सकेको अवस्थामा अस्पताल उद्घाटन हुन नदिनु दुःखद् भएको प्रतिक्रिया दिए ।

मेहताले लामो समयदेखि प्रदेश प्रहरी अस्पतालले जग्गा सहितका पूर्वाधार खोजिरहेको अवस्थामा आफूले समितिबाट पास गराएर २ विगाह ३ कट्ठा जग्गा सहित ४० कोठे भवन संरचना उपलब्ध गराएको बताए ।

मेहताले प्रहरी अस्पतालकालागि आवश्यक संरचना बेलबारी र इनरुवा मध्ये कुन उपयुक्त भन्ने बारेमा निष्पक्ष छानबिन समिति गठन गरेर अनुगमन पश्चात् टुङ्गाइनु पर्ने बताए । उनले प्रहरी टोलीकै प्राविधिक जाँच पश्चात् इनरुवा सारिएको अस्पतालका नाममा बखेडाबाजी गरिनु उचित नहुने बताए ।

सर्वदलीय बैठकले आफूहरूका जायज माग सम्बोधनमा ढिलाइ भए रिले अनशनसहित सडक सङ्घर्षका कार्यक्रम अघि बढाउने समेत निर्णय गरेको छ ।


धेरै पढिएको