खेलकुदमन्त्रीलाई खेलाडीहरूको सातबुँदे पत्र

दुल्लु खबर
७ चैत २०८० १०:५७

काठमाडौँ — नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले मंगलबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई ध्यानाकर्षण तथा सुझाव पत्र बुझाएका छन् ।

संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा गएको टोली सिंहदरबारस्थित खेलकुद मन्त्रालय पुगेर मन्त्री श्रेष्ठलाई ७ बुँदे ध्यानाकर्षण र सुझावपत्र बुझाए । संघले विज्ञप्तिमा भनेको छ, ‘राष्ट्रको खेलकुद क्षेत्रको अभिभावकको रहेको युवा तथा खेलकुद मन्त्रालयबाट हामी खेलाडीहरूले ठूलो आशा र भरोसा राख्दै खेलक्षेत्रमा प्राथमिकतामा राखेर गर्नुपर्ने विषय ध्यानाकर्षण गराउन चाहन्छौं । मन्त्रीज्यूको कार्यदक्षता र कार्यकुशलताले सफलता पाउने हाम्रो विश्वास छ ।’

१९ औं एसियाली खेलुकद र चौथो एसियाली पारा खेलकुदसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीको लागि घोषणा गरिएको पुरस्कार तत्काल दिने व्यवस्था मिलाइनुपर्ने पहिलो बुँदामा समेटिएको छ ।

राज्यले लगानी गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता पाएका खेलाडीको संरक्षण गर्न नसक्दा दिनानुदिन पलायन हुनुपर्ने समस्यालाई निराकरण गर्न तत्काल ठोस योजना बनाउनुपर्ने, निजी क्षेत्रको सामाजिक उत्तरदायित्व कोषमा रहेको रकम खेल क्षेत्रमा प्रयोगमा ल्याउन सकिए निजी क्षेत्रसमेत खेलकुदमा आकर्षित गर्नका लागि व्यवस्था मिलाइनुपर्नेलगायत सुझाव समेटिएको छ ।


धेरै पढिएको