काठमाडाैं। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ।
आयोगले कानूनको व्यवस्थालाई पूर्ण रूपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो।
आयोगले कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनै पनि व्यक्ति र तत्वहरूलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानूनको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा निर्वाचन अधिकृतहरूले पूर्ण रूपमा पालना गर्न र गराउन निर्देशन दिए।
उनले निर्वाचन बिथोल्ने गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिई निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही प्रारम्भ गर्न निर्देशन दिए।
उनले कतिपय ठाउँमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवारहरू हुने भएको भन्दै फर्जी मतदान हुने खतरा रहेकाले त्यसतर्फ बढी चनाखो हुन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिए।
उनले भने, ‘हाम्रा सबै कानूनी व्यवस्था पूर्ण छन्। मात्रै पालना गर्नेले पालना गर्नुपर्छ, कार्यान्वयन गर्नेले कार्यान्वयन गर्नुपर्छ। म सबै मतदान अधिकृत साथीहरूलाई कानूनको व्यवस्थालाई पूर्ण रूपमा अध्ययन गर्न र आफ्नो तर्फबाट शतप्रतिशत कार्यान्वयन गराउन र यदि कसैले पालना नगरे त्यस्ता व्यक्तिलाई पनि कानून बमोजिम कारबाही गर्न खुट्टा नकमाउन पनि अनुरोध गर्दछु।’