दुल्लु। दैलेख क्षेत्र नं. २ प्रदेश क प्रदेशसभा सदस्य पदका उम्मेदवार घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले उम्मेदवारी फिर्ता लिएका छन्। वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भण्डारीलाई चुनाव जिताउन आफ्नो समर्थन रहेको भन्दै सुनारले उम्मेदवारी फिर्ता लिएको बताए।
माओवादी केन्द्रमा आवद्ध सुनारले गठबन्धनविरुद्ध वागी उम्मेदवारी दिएका थिए।
यसैगरी, दैलेखमा तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन्। प्रतिनिधिसभा र प्रदेशसभाका लागि दैलेखमा ३६ जनाको उम्मेदवारी परेको थियो।
दैलेख क्षेत्र नं. २ ‘ख’ प्रदेशसभामा राजेशकुमार शाहीले उम्मेदवारी फिर्ता लिएका छन्। उनिहरुले लोकतान्त्रिक वाम गठवन्धनका उम्मेदवारलाई सघाउने गरी आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए।
राजेशकुमार शाहीले क्षेत्र नं. २ ‘ख’ प्रदेशसभा सदस्य पदका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार योगेन्द्र शाहीलाई समर्थन गरी फिर्ता लिएको उनिहरुको भनाई छ।
यसैगरी, दैलेख क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गणेशबहादुर शाहीले पनि बुधवार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
साथै, उम्मेदवारी कायम रहेका ३३ मध्ये ५ जना स्वतन्त्र उम्मेदवारले वुधबारै चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
दैलेख क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गोपाल नेपालीले खरायो, यही क्षेत्रमा सोही पदका अर्का उम्मेदवार निरख बहादुर थापाले माछा चुनाव चिन्ह पाएका छन्।
यस्तैगरी अरु तीन जना स्वतन्त्र उम्मेदवारहरु दैलेख क्षेत्र क्षेत्र नं. १ ‘क’ प्रदेशसभा सदस्य पदका उम्मेदवार चित्रबहादुर खत्रीले पानीको धारा, क्षेत्र नं. १ ‘ख’ प्रदेशसभा सदस्य पदका उम्मेदवार टेकबहादुर खाँणले ठेकी र क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्य उम्मेदवार पुरुषोत्तम रिजालले बिजुलीको बल्ब चुनाव चिन्ह पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।