सुर्खेत । जिल्ला अदालत सुर्खेतले सौगात रावतको जग्गा नामसारी प्रकरणमा १३ जनाको किर्ते ठहर गरेको छ । जग्गाधनी सौगात रावतलाई थाहै नदिएर अर्काको नाममा नामसारी गर्नेविरुद्व अदालतले किर्ते ठहर गरेको हो ।
जिल्ला अदालत सुर्खेतका न्यायाधिश डाक्टर राजेन्द्र कुमार आचार्यको एकल इजलासले १३ जनालाई कसूर ठहर गरेको अदालतका सूचना अधिकारी उज्वल रावलले जानकारी दिए ।
सूचना अधिकारी रावलका अनुसार सहबीर कार्की, अमरसिंह कटुवाल, सन्तोष ठाकुर, गणेश बुढा (गोरख), सुनिता राना, निर्मल पुरी, मालपोत कार्यालय सुर्खेतका विश्वरुप साउद, गणेश विक, कृष्ण बहादुर थापा, दिपेन्द्र श्रेष्ठ र तिर्थराज महतरा रहेका छन् भने वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ वडा कार्यालयका रामकुमार दर्लामी र उत्तम अधिकारी रहेका छन् ।
जग्गा नामसारि गरेको अभियोगमा १९ जनाविरुद्व मुद्दा दायर भएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जाहेरीमा नेपाल सरकारले अभियोग पत्र दायर गरेको थियो । सोही बमोजिम छानबिन गर्ने क्रममा रावतको जग्गा बेच्दा संलग्न व्यक्तिहरुलाई कसुर ठहर गरिएको हो ।
सुर्खेतमा कार्यरत कार्यालय प्रमुख राजेन्द्र थापा, भिमलाल आचार्य, दिपेन्द्र पुलामी र मालपोत कार्यालय सुर्खेतका तत्कालीन कार्यालय प्रमुख लक्ष्मी खत्रीलाई विरुद्व समेत अभियोग दायर भएको थियो ।
आज भएको इजलासले कसूर ठहर भएपनि अर्को हप्ता हुने पेशीबाट कसूदारविरुद्व सजायको फैसला हुने सूचना अधिकारी रावलले जनाए ।
सम्बन्धित समाचारहरू