सुर्खेत । पर्यटन विकासमा मूल आधारका रुपमा पाँच वटा ‘प’ कार्यान्वयनमा ल्याउनुपर्ने औल्याइएको छ । पर्यटकीय क्षेत्रसम्बन्धी आयोजना गरिएको प्रदेश स्तरीय कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
पर्यटन विकासका लागि पाँच ‘प’ अन्र्तगत पँहुच, प्रचार, प्रवद्र्धन, पूर्वाधार र पर्यावरण प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताइएको छ । यी आधारहरु कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले प्रस्तुत गरेका हुन् ।
प्रदेश सचिव जोशीले पहिलो ‘प’ भन्नाले हवाई होस् या स्थलगत मार्गको पँहुच, दोस्रो ‘प’ भन्नाले पर्यटकीय क्षेत्रको अधिकतम् प्रचार–प्रसार, र तेस्रो ‘प’ भन्नाले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । यस्तै, पाँच ‘प’ मध्ये चौंथो ‘प’ का रुपमा पर्यटकीय क्षेत्रलाई बैचारिक बहस र मन्थनका रुपमा प्रवद्र्धन गर्ने र पाचौं ‘प’ का रुपमा पर्यावरणलाई विशेष ख्याल गर्न सके पर्यटकीय क्षेत्रको विकास हुने बताए ।
प्रदेश सरकारले १० वर्षको दुरदृष्टि सहित पाँच वर्षको कार्ययोजना तय गरेको छ । गुरुयोजना बमोजिम नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा कर्णालीका २३ वटा स्थल राखिएको छ । जसमा सल्यानको कुपिण्डे दह, डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र, जुम्लाका सिंजा सभ्यता, डुडुल स्तुपा (चैत्य), हुम्लाको लिमी उपत्यकाका पर्यटकीय स्थलहरु, मुगुका रारा ताल, रारा–शे फोक्सुण्डो ताल पदयात्रा मार्ग पर्यटकीय गन्तव्यका रुपमा रहेका छन् ।
यसैगरि कालिकोटको पचाल झरना, जाजरकोटको खलंगा दरबार क्षेत्र, दैलेखका पञ्चकोशी पर्यटन क्षेत्र, कोदगढी–पञ्चदेवल–बेलासपुर, महाबु पर्यटन क्षेत्र, सुर्खेतका काँक्रेविहार, देउती बज्यै, मदन आश्रित पार्क, जाजुरादह, गिद्दे डाँडा पर्यटन क्षेत्र, पञ्चपुरी नगरपालिका ८ र ९ वडामा पर्ने गुसी ताल, मादले गुफा, शिव गुफा, र रुकुमपश्चिमको गोतामकोट चित्रिपाटन सहसिक पदमार्ग गुरुयोजना बमोजिम नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयकी देवकुमारी शाहीको प्रस्तुत कार्यपत्रमा उल्लेख छ ।
साथै, सो कार्यपत्र मार्फत कर्णालीका ठूला पर्यटन पूर्वाधारको रुपमा लिमी पर्यटन पूर्वाधार, पिली युद्द संग्रहालय, गोठिचौर, काँक्रेविहार, बुलबुले, शहिदपार्क, बराह ताल संरक्षण, पञ्चकोशी क्षेत्र संरक्षण, दुनै भेरी टापु, मालिका मन्दिर, खारा युद्द संग्रहालय र राता ताललाई परिचीत गराइएको छ ।
कर्णालीमा पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास लागि प्रदेश पर्यटन ऐन २०७८ समेत जारी गरि चैत्र ६ गतेदेखि लागू भएको छ ।
नेपालको हिमाली प्राकृतिक सुन्दरताा, धार्मिक पर्यटकीय गन्तव्य, मौलिका सांस्कृतिक तथा पुरातात्विक सम्पदा र भारत–चीनबीचको भौगोलिक अवस्थिति पर्यटनका लागि सम्भावित क्षेत्र हुन् ।
नेपालमा सन् २०१७/१८ अघि वार्षिक सरदर १२ लाख बराबर पर्यटक भित्रिने गरेकामा कोरोनाकाल पश्चात सरदर १ लाख ५० हजारमात्रै पर्यटक आएको तथ्यांक रहेको छ ।
हाल कर्णालीमा प्रवेश शुल्क तोकिएका स्थलहरुमा पुगेको पर्यटकको मात्रै तथ्यांक राखिएको छ । जसअनुरुप कर्णालीमा वार्षिक एक लाख ३६ हजार आगन्तुक भित्रिएको तथ्यांक देखिन्छ ।
पर्यटन विकासमा अपेक्षित विकास र विविधिकरण हुननसक्नु, अन्र्तराष्ट्रिय रुपमा प्रवद्र्धन हुननसक्नु, पर्यटन पूर्वाधारको कमी, धार्मिक तथा साँस्कृतिक क्षेत्रको संरक्षण र सम्वद्र्धनमा नीजि क्षेत्रको सहभागिता विषयलाई समस्याका रुपमा औल्याइएको छ ।
आगामी दिनहरुमा संघीयता अनुकुल नीतिगत सुधार सहकार्य र समन्वय, विश्व पर्यटन बजारमा नेपाललाई एक आकर्षक पर्यटन गन्तव्य स्थलको रुपमा स्थापित गर्नुपर्ने, हवाई सेवाको सुरक्षाविस्तार र विश्सनीयता बढाउने, नयाँ गन्तव्य स्थलहरुको पहिचान विकास र विविधकरण गर्ने, पर्यटकीय पूर्वाधार विकासमा नीजि क्षेत्रको लगानी आकर्षीत गनुपर्ने उल्लेख गरिएको छ ।
विकसित मूलुकले पर्यटन क्षेत्रमा गरेको विकासलाई अध्ययन गरी कर्णालीमा योजना ल्याइने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामाले बताए ।
यहाँका हरेक गतिविधि राजनीतिक ‘इन्ट्रेष्ट’का कारण विकास हुन नसकेको मन्त्री लामाको भनाई छ । ‘यहाा राजनीतिक इन्टे«ष्टका कारण विकास हुन सकेको छैन ।’ मन्त्री लामाले भने, ‘यसले राष्ट्रको हित हुदैन । विकास गर्ने कुरामा सबैको एकरुपता हुनुपर्दछ ।’
साथै, मन्त्री लामाले कर्णालीको पर्यटन विकासमा आफुले सक्ने जति काम गर्ने बताए । उनले पर्यटन विकासमा कर्णालीको जलयात्राको लागि योजना बनाइरहेको जानकारी दिए ।
कर्णाली पर्यटनका हिसाबले ‘भर्जिन ल्याण्ड’ भएपनि यहाँभित्रका विभिन्न समस्या र चुनौतीका कारण अघि बढन नसकेको नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रकाश अचार्यले बताए । ‘कर्णाली भर्जिन ल्याण्ड हो । यहाँ पर्यटन विकास हुन सकेको छैन । कर्मचारी अभाव र पूर्वाधार विकास प्रमुख समस्या बनेको छ ।’ उनले भने, ‘अन्य प्रदेशमा कार्यालय स्थापना भएर सोही अनुरुप काम भैरहेका छन् । कर्णाली आफैमा पर्यटन सम्भावनाको क्षेत्र भएपनि ऐन नियम कानुनको अभाव झेलिरहेको छ ।’
नेपालको अर्थतन्त्रको प्रमुख खम्बाको रुपमा पर्यटन क्षेत्रलाई लिइए पनि लक्ष्य अनुसार काम हुन नसकेको उनको भनाई छ ।
पर्यटकको सवालमा जनस्तरलाई पर्यटनसँग जोड्न ‘जनसँग पर्यटन’ प्रचार प्रसारका लागि ‘नामसँग पर्यटन’ नारा बनाउनुपर्ने सचिव जोशीको सुझाव छ ।
साथै, उक्त प्रदेश स्तरीय कार्यक्रममा नागरिक संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालयका सह सचिव होमप्रसाद लुइटेलले कर्णालीको पर्यटनका विकासमा सवालमा छलफलबाट उठेका विषयवस्तुलाई आगामी नीति तथा कार्यक्रममा समेटिने बताए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेश तहमा पर्यटन सम्बन्धी जिम्मेवारी हस्तान्तरण भएको क्षेत्रमा सूचना ज्ञान तथा अनुभव आदानप्रदान गर्ने सम्बन्धी प्रदेश स्तरीय कार्यक्रम विहिबार आयोजना गरेको थियो । सो कार्यक्रमको समन्वय प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको थियो ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रकाश आचार्य, पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसी र उद्योग उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयकी देवकुमारी शाहीले कार्यपत्र प्रस्तुत गरेका थिए ।