सुर्खेत । १३ औं सुर्खेत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । यसपटक आयाेजना हुने प्रतियाेगिता बराहताल गाउँपालिका -५ जनज्योति माध्यामिक विद्यालय बड्डीचौरमा सञ्चालन हुन लागेकाे हाे ।
चैत्र १७ गते देखि १९ गतेसम्म संचालन हुने आयाेजकले जनाएकाे छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद समन्वय र सुर्खेत जिल्ला खेलकुद विकास समितिको आयोजना एवम् जनज्योति मावि बड्डीचौर,बराहताल-५ सुर्खेतको सहआयोजनामा हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयाेजना हुन लागेकाे हाे ।
प्रतियाेगिता सञ्चालनका लागि आवश्यक तयारी पूरा भैसकेकाे मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएकाे छ ।
आयाेजकका तर्फबाट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्र गिरी र सहआयोजकको तर्फबाट जनज्योति मावि बड्डीचौरका प्रधानाध्यापक नारायणप्रसाद सिग्देलले संयुक्त रुपमा जानकारी दिए ।
प्रतियोगितामा कराते छात्र/छात्रा ४/४, तेक्वान्दो छात्र/छात्रा ३/३, उसु छात्र/छात्रा ३/३, भलिबल छात्रा/छात्र १/१, कवड्डी छात्र/छात्रा १/१, एथलेटिक्स छात्र/छात्रा १३/१३ गरी जम्मा ५० इभेन्टमा ५० स्वर्ण पदक, ५० रजत पदक, ११४ कास्य पदकका लागी प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
सुर्खेत जिल्लाभरका ४६ विद्यालयका ७५० जना खेलाडी एवंम १५० जना निर्णायक तथा अफिसियलहरुको सहभागिता रहने छ ।
उक्त प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढा क्षेत्रीले गर्ने छन् ।
तीन दिनसम्म चल्ने विभिन्न विधाको उक्त खेलमा २० लाख ५० हजारको लागत अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतियाेगिताकाे लागत अनुमानमध्ये जिल्ला खेलकुद विकास समितिले ४ लाख, बराहताल गाउँपालिकाले १० लाख, सुर्खेत जिल्लाका सम्पूर्ण नगरपालिकाले एक, एक लाख र सम्पूर्ण गाउँपालिकाले ५० हजारका दरले सहयोग गर्ने बाचा गरेकोले रकम अपुग नहुने बराहताल गाउँपालिका अध्यक्ष तेज बहादुर बस्नेतले जानकारी दिए ।
सहआयोजनक रहेको बराहताल गाउँपालिका ५ जनज्योति मा.वि. विद्यालयले आवास तथा खाना व्यवस्थापन, फिल्ड व्यवस्थापन, स्वयमसेवक व्यवस्थापनकाे जिम्मा लिएको छ ।