दैलेख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेद्वारका आकांक्षीहरु देखिन थालेका छन् । २०७९ बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा गाउँपालिका प्रमुखका आकांक्षी उम्मेद्वारहरु सार्वजनिक हुने क्रम बढेको छ ।
दैलेखको महाबु गाउँपालिकामा पनि नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका लागि तीन जनाको उम्मेद्वारी चर्चामा छ । नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधी समेत रहेका लक्षमण गुरुङ, पूर्व जिल्ला कार्य समिति सदस्य झलक भण्डारी र सुवर्ण शाहीले आकांक्षा देखाएका छन् ।
गुरुङ उमेरका हिसाबले पाका नेताका रुपमा देखिएका छन् भने भण्डारी र शाही यूवा नेता हुन् । राजनीतिक नेतृत्वमा यूवाको अग्रसर हुनुपर्ने भन्दै भण्डारी र शाहीले आफ्नो दावी नछोड्ने अडानमा छन् ।
भण्डारी नेपाल विद्यार्थी संघको राजनीतिबाट पार्टीमा उदाएका नेता हुन् भने नेविसंघ हुँदै पत्रकारीताबाट उदाएका शाही हाल नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सदस्य हुन् ।
नेता गुरुङ संस्थापनईतर पक्ष हुन् भने भण्डारी र शाही संस्थापन पक्षका हुन् ।
दैलेख जिल्लामा रहेका ११ स्थानीय तह रहेका छन् भने २ वटा निर्वाचन क्षेत्रमा ४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन् ।
स्थानीय तह निर्वाचनमा कांग्रेसले संस्थापन र संस्थापनईतरबीच भागबण्डाका आधारमा टिकट बाड्ने देखिन्छ । सोही अनुसार आंकलन गर्दा महाबुमा संस्थापन पक्षको भाग पर्ने भन्दै बलिया उम्मेदवारका रुपमा आफुहरु रहेको संस्थापन पक्षको दावी छ ।