सुर्खेत । निर्वाचित सांसद नभएपनि हुम्लाका छिरीङ डम्डुल लामा (कार्चेन) कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भईसकेका छन् । मुख्यमन्त्री जीवन शाही नेतृत्वको सरकारले धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदा, पर्यटकीय क्षेत्र, वन, उद्योग, वातावरणसँग सम्बन्धित क्षेत्र संरक्षणको प्रमुख जिम्मेवारी उनलाई दिइएको छ ।
मूर्ति चोरी अभियोगमा दुई वर्ष र पाँच हजार रुपैयाँ जरिवाना सजाय भुक्तान गरेका मन्त्रीबाटै त्यस्ता सम्पदाको संरक्षणको जिम्मा दिइएको भन्दै कर्णाली प्रदेश सरकारको चौतर्फी रुपमा आलोचना भैरहेको छ ।
नेकपा माओवादीले उनलाई मन्त्री पदका लागि सिफारिस गरेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडानमा गैरसांसदलाई मन्त्री सिफारिस गरेको भन्दै माओवादीका कर्णाली प्रदेश सांसद समेतले नेतृत्वप्रति असन्तुष्टी व्यक्त गरिरहेका छन् ।
के थियो घटना ?
वि.सं. २०४९ सालमा तिब्बतको खोच्यार गुम्बाबाट मूर्ति चोरी गरेको अभियोगमा छिरीङ डम्डुल लामा (कार्चेन) र छिरिङ पाल्देन लामालाई प्रहरीले पक्राउ ग¥र्यो ।
मूर्ति चोरीमा छिरीङ डम्डुल लामा (कार्चेन) र छिरिङ पाल्देन लामासहित भारतीय मुलका अन्य तीन जना पनि थिए । कार्चेन र उनका साथीले भारतीय मुलका नागरिकलाई मूर्ति चोर्न पठाएर आफुहरु भने नेपाल तर्फको भुभागमै कुरेर बसेको देखिन्छ ।
हुम्ला जिल्ला अदालतको मुद्दा नं. ४१० मा उल्लेख छ, हिन्दी भाषा मात्र बोल्न जानेका ति भारतीय मुलका जस्ता देखिने व्यक्तिहरुले मूर्ति चोरेर कार्चेन भएतर्फ आएको देखिन्छ ।
पुरानो मूर्तिको मुल्य पनि धेरै पाउने आसा कार्चेन र उनको साथीमा सल्बलाईरहेको थियो । मूर्ति आफैसँग राख्ने र आफुहरुले नै बढि मुल्यमा बिक्रि गरी मनग्य आम्दानी गर्ने योजना बुनिएको थियो ।
भारतीय मुलका ति व्यक्तिहरु कार्चेन भएतर्फ आईपुगे । कार्चेन र उनका साथीले भने उनिहरुलाई डर क्रास देखाउँन थाले । ‘मूर्ति चोरी गरि ल्याएको प्रहरीलाई भन्दिन्छौँ’ कार्चेन र उनका साथीले धम्की दिन थाले ।
भारतीय मुलका नागरिकसँग हुम्ला जिल्लामै कार्चेन र उनका साथीको भेट भएको थियो । दुर्गम क्षेत्रमा पुराना मूर्ति पाइने आसामा ति विदेशीहरु मूर्तिका लागि आएको बताउथे । कुराकानीका क्रममा कार्चेन र उनका साथीले तिब्बतको खोच्यार गुम्बामा पुरानो मूर्ति रहेको जानकारी उनिहरुलाई दिए । र, मूर्ति चोरिमा आफुहरुको पनि ईच्छा रहेको जनाएको अदालतमा पेश भएको बयानमा उल्लेख छ ।
एकातिर आफुहरु हुम्लाका स्थानीय बासिन्दा रहेको र अर्कोतर्फ तिब्बतको खोच्यार गुम्बा क्षेत्रमा आवातजावत भईरहने हुँदा आफुहरुलाई त्यहाँका नागरिकले सजिलै चिन्ने भएकाले कार्चेन र उनका साथिले मूर्ति चोरिमा ईच्छा भएपनि त्यसतर्फ जान नसकिने जनाए । ‘तिमिहरु जाउँ हामी यतै भेटौँला’ भन्दै गुम्बा तर्फ जाने बाटो कार्चेन र उनका साथिले नै ति विदेशीलाई देखाएका हुन् ।
मूर्ति चोरि गर्न पठाएका कार्चेन र उनका साथीले विदेशीलाई मूर्ति चोरेर ल्याए आफैले खरिद गर्न सक्ने पनि आश्वासन दिएका थिए । हुम्लाबाट अन्यन्त्र लुकाईछिपाई मूर्ति लैजान गाह्रो हुने र प्रहरीले समेत सुइको पाउने डर ति विदेशीलाई दिइएको थियो ।
०४९ साल कार्तिक महिनाको ९ गतेको दिन थियो । गुम्बाबाट मूर्ति चोरि भएर हिल्सा आईपुग्यो ।
विहानको समय थियो कार्चेनलगायतको समुह एकत्रित भई मूर्ति सहित जंगलको बाटो हुँदै हिल्सादेखि ओरालो झर्न थाल्यो ।
मूर्ति बिक्रिपछि मनग्य आम्दानी गर्ने सपना कार्चेन र उनका साथी छिरिङ पाल्देनको मनमा पहिले देखि नै सल्बलाईरहेको थियो । सोहि अनुसार ति विदेशीलाई मूर्ति बिक्रि गर्न अनुरोध गर्न थालियो ।
जंगलको बाटो पनि कटिरहेको थियो । मूर्तिको मोलमलाई थालियो । विदेशीहरुले शुरुको मुल्य नै तीन लाख रुपैयाँ भने । उक्त समयमा यो रकम धेरै नै हो ।
कार्चेन र उनका साथीले भने ५० हजार रुपैयाँमा खरिद गर्ने जनाए । त्यति धेरै रकम घटेर मूर्ति लग्न खोजिएकोमा विदेशीले मानेनन् । मोलमोलाई चलिनैरह्यो ।
मूर्ति सहित यो समुह सत्ली खोला आईपुगेको थियो । तर मोलमोलाई भने सकिएन । त्यो रात पनि त्यतै आसपास बित्यो । जंगल क्षेत्रमै उनिहरुले बासको व्यवस्था गरे ।
भोलिपल्ट अर्थात कार्तिक १० गते भने कार्चेन र उनका साथिले ति विदेशीलाई मूर्ति बिक्रिका लागि दवाव दिन थाले । अघिल्लो दिन मोलमोलाई मिलेन । केहि सिप नलागेपछि भोलिपल्ट कार्चेनको समुह विदेशीका सामु दवावका साथ उत्रियो । उनिहरु शुरुको मुल्य भन्दा माथी गएनन् । उल्टो बिक्रि गर्नैपर्ने अन्तिम विकल्प प्रस्तुत गर्न थाले ।
एकोहोरो आईरहेको दवावका सामु विदेशीहरु टिक्न सकेनन् । सुरुमा तीन लाख रुपैयाँ तोकिएको मूर्तिको मुल्य एक लाख रुपैयाँमा झरेर आयो । तर पनि कार्चेन र उनका साथीले त्यो प्रस्तावलाई स्विकारेनन् । उल्टो, प्रहरीलाई खवर गरिदिने र मूर्ति सहित ति विदेशीलाई पनि पक्राउ गराईदिने धम्की दिन थालियो । अन्त्यमा ति विदेशीले कार्चेन र छिरिङ पाल्देनलाई ५० हजार रुपैयाँमै मूर्ति बुझाउन वाध्य भए । छिरिङ पाल्देनले २० हजार रुपैयाँ लगानी गरे । पाल्देनले दिएको रकममा थप गरी कार्चेनले ५० हजार पु¥याएर विदेशीलाई दिए र मूर्ति बुझे ।
मूर्तिलाई काठमाडौं पु¥याउने योजना
मूर्तिलाई सुरक्षित राख्नु पहिलो योजना बन्यो । सत्ली खोलाको सिरानमा बाख्री गोठ थियो । बाख्री गोठभन्दा करिव पाँच सय मिटर पर ढुंगाको ढाण (दुई ढुंगा विचको प्वाल) । त्यही ढाण नै सुरक्षित देखियो । कार्चेन र उनका साथि छिरिङ पाल्देनले मूर्तिलाई त्यही ढाणमा लुकाए ।
मूर्तिको विषयमा उनिहरुले गाउँका कसैलाई पनि जानकारी दिएनन् ।
दुवैजना आ–आफ्नो दैनिकिमा फर्किसकेका थिए । केहि दिन मूर्तिको वारेमा सोधखोज नभएपछि त्यो समयलाई यि दुवैले मूर्ति अन्यन्त्र सार्ने समयको रुपमा बुझे ।
करिव १५ दिनको मौन बसाईपछि उनिहरुले मूर्तिलाई वाहिर निकाले र काठमाडौं पु¥याउने योजना बनाए । कार्चेनका भिनाजु नाता पर्ने छक्कबहादुर लामा र नुर्बु छिरिङ लामाको वसाई काठमाडौंमा थियो । काठमाडौंमा मूर्ति बिक्रिमा सघाउ पु¥याउने आसामा कार्चेन र छिरिङ पाल्देनले काठमाडौंको यात्रा तय गरेको अदालतका लागि उनिहरुले दिएको वयानमा उल्लेख छ ।
काठमाडौं पुग्ने सोचले तय भएका उनिहरुका पाइला भने हुम्लामै रोकियो । २०४९ साल कार्तिक २५ गते हुम्लाको लिमि–मुचु जाने दोबाटोमा कार्चेन र छिरिङ पाल्देनलाई प्रहरीले मूर्ति सहित पक्राउ ग¥र्यो ।
जिल्ला अदालत हुम्लाले २०५१ मंसिर १४ मा प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा १३ (५) अनुसार फैसला सुनायो । जनही दुई वर्ष कैद र पाँच हजार नगद जरिवानाको फैसला भयो । उनीहरु दुवैले २०४९ कार्तिक २८ देखि २०५१ कार्तिक २७ गतेसम्म कैद भुक्तान गरिसकेका छन् ।
कार्चेनको मन्त्री पद
नैतिक पतन भएका व्यक्तिलाई सार्वजनिक ओहोदामा नियुक्त गरिएको भन्दै कर्णाली प्रदेश सरकारको अहिले आलोचना भईरहेको छ । तर चोरीसम्बन्धी सबैजसो अपराध नैतिक पतन नहुन सक्छन् । गम्भिर प्रकृतिका अपराधलाई मात्र अदालतले नैतिक पतन ठहर गर्दछ ।
अपराधवापतको सजाय भुक्तान गर्नुलाई मात्र नैतिक पतन भएको मान्न सकिदैन । अदालतले अपराधलाई नैतिक पतन भएको ठहर गरेको अवस्थामा बाहेक सार्वजनिक पद धारण गर्न मिल्ने व्यवस्था छ ।
‘फौजदारी अभियोगमा सजाय भुक्तान गरेका सबैलाई नैतिक पतन भन्न मिल्दैन’ अधिवक्ता दुर्गा सापकोटाले भने, ‘नैतिक पतन हुनका लागि अदालतले गम्भिर अपराध गरेको ठहर गरी सोही अनुसार फैसला गरेको हुनुपर्दछ ।’
नैतिक पतनबाहेक फौजदारी अभियोगमा सजाय भुक्तान गरेको तीन वर्ष नाघिसकेको व्यक्तिले सार्वजनिक पद धारण गर्न कानुनी बन्देज नहुने अधिवक्ता सापकोटाको भनाई छ ।
मन्त्री लामाले मूर्ति चोरीको सम्बन्धी कसूर अन्र्तगत सजाय भुक्तान गरेको २७ वर्ष पुगेको छ । उनीहरुले २०४९ कार्तिक २८ देखि २०५१ कार्तिक २७ गतेसम्म कैद भुक्तान गरिसकेका छन् ।
नेपालको संविधानको धारा १७० मा प्रदेश सभाको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुन पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार लामाले ६ महिनाभित्र प्रदेश सभाको सदस्यता प्राप्त नगरे मन्त्री पदबाट पदमुक्त हुनुपर्छ ।