हुम्ला — नाम : छिरिङ दमदोल लामा (कार्चेन लामा)
मुद्दा : मूर्ति चोरी
कैद जरिवाना : २ वर्ष कैद‚ ५ हजार रुपैयाँ जरिवाना
हुम्ला जिल्ला अदालतको अभिलेखमा दर्ता नम्बर ४१० मा रहेको २०५१ मंसिर २५ गते फैसला भएको मुद्दाको विवरण हो यो । २०४९ सालमा तिब्बतको खोचेरनाथ गुम्बाबाट मूर्ति चोरेर ल्याएको अभियोगमा यिनै कार्चेन लामा दोषी ठहर भई कैद र जरिवाना भुक्तान गरिसकेका व्यक्ति हुन् । उक्त मूर्ति १२ सय वर्ष पुरानो हो ।
लामाले २०४९ कार्तिक २८ देखि २०५१ कार्तिक २७ गतेसम्म कैद सजाय भुक्त्तान गरिसकेका छन् । प्रहरीले मुद्दा दायर गरेपछि तत्कालीन जिल्ला न्यायाधीश निलकण्ठ उपाध्यायले २०५१ मंसिर २५ गते उनीसहित छिरिङ पाल्देन लामासमेतलाई दुई/दुई वर्ष कैद र ५/५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएका थिए ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार कार्चेनले आइतबार मन्त्रीको शपथ लिँदै छन् । कार्चेनलाई प्रचण्डको निर्देशनमा पार्टीको प्रदेश कमिटी र प्रदेश सभा संसदीय दलले मन्त्रीको सिफारिस गरेपछि उक्त पार्टीका सांसदहरूले चर्को असन्तुष्टि जनाएका छन् ।
नेता विष्टले यो निर्णयलाई माओवादी आन्दोलनमाथीको कलंक भएको बताए । हाल कर्णाली प्रदेशमा माओवादी केन्द्रका १२ सांसद् छन् । तीमध्ये पाँच जना मन्त्री बन्न बाँकी छन् । अन्य सांसदहरू यसअघिका मन्त्रिपरिषद्मा सहभागी भइसकेका छन् ।
लामा भन्छन्- संविधानबमोजिम नै मन्त्री बन्दैछु
मन्त्री बन्ने तयारीमा रहेका लामाले संविधानले दिएको अधिकारअन्तर्गत आफू मन्त्री बन्न लागेको बताए । ‘ठूला नेताहरूले बनाएको संविधान हो‚’ उनले भने, ‘गैरसासंदलाई ६ महिना मन्त्री हुन पाउने लेखिएको छ ।’
यद्यपी आफूले कैद जीवन बिताए पनि उनले आफूमाथिको अभियोग (मूर्ति चोरी) सहि नभएको बताए । आफूलाई मन्त्री बनाउन जिल्ला, प्रदेशदेखि केन्द्रसम्म पार्टीका नेताहरूले पहल गरेको लामाको भनाइ छ । मन्त्री बन्ने पक्का भएपछि उनी प्रदेश राजधानी सुर्खेत आइपुगेका छन् । (ज्याेती कटुवाल-कान्तिपुर)