सम्पादकीय नोट : कर्णाली प्रदेश सभा सचिवालयले आफ्नो चौथो स्थापना दिवस मनाउँदै छ । दिवसका अवसरमा प्रदेशसभाले खुल्ला संसद सप्ताह अन्तरगतका विभिन्न कार्यक्रम आयोजना गरेको छ। सोही बमोजिम बिहिबार वक्तृत्वकला प्रतियोगिता गरिएको छ । उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागीमध्येबाट वीरेन्द्रनगरस्थित जन नमुना माध्यामिक विद्यालयका छात्रा ज्योती देवकोटाले प्रस्तुत गरेको वक्तव्यको सम्पादित अंश हामीले प्रस्तुत गरेका हाैं ।
आँखा चिम्म गरी सपनाको दुनियामा हराउन पर्दैन
आफु सत्य छ भने कोही माइकालालसँग डाराउन पर्दैन
यदि म प्रदेश सभा सदस्य भए भने
युवा पिढी, गास, बास र कपासका लागि खाडीमा हराउन पर्दैन
अनि आम जनता पुर्पुरोमा हात राखेर विकास भएन भनेर कराउन पर्दैन ।
निर्णायक महोदय,
जसरी सगरमाथाको चुचुरोमा पुग्नका लागि सुरुवात फेदबाट गर्नुपर्छ । हो त्यही फेद हो प्रदेश सभा सदस्य । जो कुनैपनि क्षेत्रको मतदाताद्वारा प्रदेश सभा अन्तरगतको चुनावबाट चुनिन्छ ।
प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक विकास प्रदेश सभाबाटै हुन्छ भन्दा फरक पर्दैन ।
प्रदेशसभालाई प्राप्त अधिकारको सही सदुपयोग गर्दै आफ्नो क्षेत्रमा भएका समस्या अध्ययन गरी समाधानको पाटोमा अगाडी बढ्ने हो भने प्रदेशको मुहार फेर्ने सकिने कुरामा कुनै दुइ मत छैन ।
विकास पहिलेको तुलनामा भएको छ तर दिगो हुन सकेको छैन ।
विकास गर्ने नाममा नाला, बाटो, पुल बनाउछौं तर केही दिनमै भत्किन्छन् । हामीले प्रदेश अस्पताल बनाएका छौं तर डाक्टर र स्रोत साधनको अभाव झेल्दै स्वास्थ्य समस्या आउदा लखनउ र नेपालगञ्ज धाउन बाध्य छौं ।
‘ल्हासामा सुन छ कान मेरो बुच्चै’ भनेझैं भेरी र कर्णाली आफ्नै गतिमा बगिरहेको छ । अनि मैले मेरो घरको धारामा पानी आउन आइतबार कुर्न पर्ने ?
निर्णायक महोदय,
हामी कुनै कार्यक्रममा सहभागी हुँदा ओई तेरो प्रदेशमा सियो उत्पादन हुदैन भन्दा कसको मन नरोला । हामी आत्मनिर्भर बन्ने कहिले ?
आफ्नो क्षेत्रमा कलकारखाना स्थापना गर्न खोज्दा भारतमा २ लाखमा पाइने मेसिन घरको दैलोमा आउँदा १० लाख पुग्छ । अनि कसरी हुन्छ कलकारखाना स्थानपना ?
भनिन्छ नी ‘घाँटी हेरी हाड निल्नु ।’ किसानले उत्पादन गरेको तेल बेच्ने बजार छैन । हामी रेल ल्याउने तरखर गर्छाैं । लज्जाले शीर झुकाउ ।
हामी यस्तो समाजका नागरिक हौं आफैले भोट गरेको नेताले जनतालाई चिन्दैन । चुनावको बेला घरदैलोमा हिड्न सक्ने नेता जितेपछि जनताको दुःख बुझ्दैन ।
कुरा भर्खरै सम्पन्न महाधिवेशनको हो । नेताले आफैलाई चोर भन्दा दुःख व्यक्त नगरी गलल्ल हास्सेर उडाउछन् यस्ता नेतालाई पटक पटक मेरो मुलुकको साँचो दिने हो भने बाजी थापेर भन्छु मुलुकको मुहार कहिल्यै फेरिदैन ।
यही अवस्था रह्यो भने पुर्पुरोमा हात राखेर ‘मेरा हजुर बुवा यसै मरे, बाबु नी यसै मर्छन, अनि विकास कहिले हुन्छ’ भन्ने बाहेक विकल्प छैन ।
समस्या यहाँ हरेक क्षेत्रमा समस्या देख्छु । ती समस्याभित्र समाधान पनि खोज्छु ।
आम जनता विकास भएन भनेर दिनरात नेतालाई सराप्छ, अनि कर छल्ने उपाय सिक्छ । भोट हाल्ने बेलामा साप्रा र तिनपानेमा बिग्छ, अयोग्लाई पुर्याउछ सत्तामा, अनि योग्यको हुन्छ हार । अब भन्नुस् कसरी सुरक्षित हुन्छ हाम्रो घरबार ?
यसरी हरेक कुरामा नेता र सरकारलाई मात्र दोष दिने तमाम नागरिकको मानसिकतालाई बदलेर अहिले नगरे कहिले गर्ने, मैले नगरे कसले गर्ने ? भन्ने भावनाको बीजारोपण गराउँदै आफ्ना क्षेत्रका मानिसको आधारभुत आवश्यकताको महसुस गर्दै गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका कुराको परिपूर्ती गराउँदै म आफ्नो प्रदेश सभा सदस्यको यात्रा तय गर्ने थिए ।
दुई दिनको जिन्दगीमा भ्रष्टाचार, रिसराग, खुट्टा तान्ने प्रवृत्ती, सत्ताको मोह आखिर के का लागि ?
आफ्ना क्षेत्रको समस्या त्यहाँको अभिभावक भएर समाधान गर्ने थिए । यहाँ प्रतिनिधीलाई आफ्नै क्षेत्रको मानिसले चिन्दैन उता आफ्नै बाबुले छोरालाई नचिने जस्तो भएन र महोदय ?
जताततै स्रोत साधन भएको क्षेत्रमा युवापिढि आफ्नो सम्भावनाको समुन्द्रमा बेरोजगारीको अन्धकार बाहेक अरु केही देख्न नसकी आफ्नो खोरिया बाँझो छोडेर कोरिया जान विवस्त छन् ।
ती तमाम् युवा वर्गलाई रोजगारी दिनु मेरो पहिलो प्राथमिकता हुनेछ । कृषि पढेका विद्यार्थीसँग समन्वय गरेर कृषिमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरामा अघि बढाउदै कृषकको उचित मुल्यांकन गर्दै कलकारखाना स्थापनाका लागि करछुट गर्दै म आफ्नो यात्रा तय गर्थे ।
बालबालिका भोलीका देशका कणधार हुन भन्ने कुरा बोलीमा मात्र सिमित नराखेर बालकालिकाको लागि बोल्न बालबालिका दिवसकै प्रतिक्षा गर्नुपर्ने, महिलाका पीडा सुनाउन महलिा दिवस कै मन्च कुनुपर्ने, कानुनी कुरा गर्न संविधान दिवसको प्रतिक्षामा बस्नुपर्ने जस्ता कार्य म गर्दैन थिए ।
म पर्यटकीय विकासलाई अंगालेर आफ्नो ओठमा मुस्कान र मष्तिस्कमा सोच लिएर अघि बढ्दै राजनीतिलाई फोहोरी खेलको संज्ञा दिने मानसिकतालाई म एउटा गतिलो झापड बनेर अघि बढ्ने थिए ।
अहिले तपाई म पात्र मात्रै देख्नु भएको छ । म पछाडी पनि तमाम् पात्र छन् । मलाई प्रदेश सभा सदस्य बनाउनका निम्ति यहाँहरुको साथ चाहिन्छ । के तपाईहरु मलाई साथ दिनुहुन्छ ? भन्ने प्रश्न थाती राख्दै शिक्षाको विद्यार्थी राजनीति त बुझ्दैन तरपनि आफ्नो काँधमा आएको जिम्मेवारी पुरा गर्न सक्छु भन्ने विश्वास व्यक्त गर्दछु ।
धन्यवाद ।
भिडियाे हेर्नुहाेस्