काठमाडौँ । शिक्षा मन्त्रालयको निर्णय पालिकाहरूले अवज्ञा गरेपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीएमसी) को निर्देशनमा माघ मसान्तसम्म विद्यालय बन्द गरिने भएको छ । सीसीएमसीको सिफारिसअनुसार यसअघि शिक्षा मन्त्रालयले गरेको निर्णय पूर्ण रूपमा कार्यान्वयन नभएपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको डीसीएमसीलाई अधिकार दिन लागिएको हो ।
शिक्षा मन्त्रालयले यसअघि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर आफ्नो पालिकामा कोभिड महामारीको जोखिम न्यून रहेको भन्दै केही स्थानीय तहले भौतिक उपस्थितिमा नै पठनपाठनलाई निरन्तरता दिएका छन् । पछिल्लो पटक सीसीएमसीले माघ मसान्तसम्म विद्यालय बन्द गर्नुपर्ने राय दिएको छ ।