सुर्खेत । राष्ट्रिय सभा सदस्य पदको निर्वाचन सम्पन्न भएको छ । आज सम्पन्न निर्वाचनमा कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धनका उमेद्वार बिजयी भएका छन् ।
संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार दुर्गा गुरुङ, नरबहादुर बिष्ट र उदय बोहोरा बिजयी भएका हुन् । कर्णालीमा महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य (खुला) तर्फ गरी तीन सीटका लागि निर्वाचन भएको थियो ।
महिला तर्फ नेपाली काँग्रेसकी गुरुङ, अपांगत्ता वा अन्य तर्फ माओवादी केन्द्रका बिष्ट र अन्य तर्फ एकीकृत समाजवादीका बोहोरा निर्वाचित भएको प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेले जानकारी दिए ।
उनका अनुसार गुरुङले २ हजार ९ सय ७० तथा बिष्ट र बोहोराले बराबर ३ हजार ६ मत भार प्राप्त गरेका छन् ।
निर्वाचनमा सत्ता गठबन्धनका संयुक्त उमेद्वार तीन र एमालेका तीन जना उमेद्वारले भाग लिएका थिए । एमालेबाट महिलातर्फ गंगा थापा (महत), अपाङ्गगता भएका व्यक्ति वा अल्पसंख्यक तर्फबाट पदमबहादुर माझी र अन्य तर्फ चुडामणी शर्मा उमेद्वार थिए ।
माझीले १ हजार ३ सय ९८ तथा महत र शर्माले समान १ हजार ४ सय ६ मतभार प्राप्त गरेका छन् । अपांग तर्फको १ मत र महिला तर्फको २ मत बदर भएको निर्वाचन अधिकारी चालिसेले जानकारी दिए । निर्वाचन कार्यालयका अनुसार बदर भएका तीन वटै मत स्थानीय तहका प्रमुख उपप्रमुख तर्फका हुन् ।