सुर्खेत । बाँके र सुर्खेतको सिमाना बबईमा रहेको हेल्थ डेस्क छिन्चुमा सारिएको छ। बबईमा पर्याप्त ठाउँ नभएकाले कर्णाली प्रदेश सरकारले भेरीगंगा नगरपालिकासँग समन्वय गरी छिन्चुमा हेल्थ डेस्क सारेको हो ।
भेरीगंगा नगरपालिका–१२ तोलीखोला पुलको पारिपट्टि हेल्थ डेस्क स्थापना गरिएको हो । तेस्रो मुलुक, भारत तथा नेपालका केही ठाउँबाट कर्णाली भित्रिने प्रमुख नाकाका रूपमा रहेको बबईमा उपयुक्त ठाउँ नभएपछि हेल्थ डेस्कलाई छिन्चुमा सारिएको हो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार शनिबारदेखि बबईमा भएको हेल्थ डेस्कलाई छिन्चुमा ल्याएर सञ्चालनमा ल्याईएको हो ।
‘नजिकै प्रहरी चौकी पनि भएकाले डेस्कमा भएका स्वास्थ्यकर्मीलाई समन्वय गर्न सहज हुनेभयो, आवश्यक अरु संरचना पनि नजिकै भएकाले यसलाई प्रदेश सरकारको अगुवाईमा छिन्चुमा सारिएको हो,’ प्रजिअ रिजालले भने ।