काठमाडाैं । प्रदेश २ को नाम मधेस प्रदेश तोकिएको छ । सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो ।
संविधानअनुसार प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले टुङ्गो लगाउनु पर्छ । मधेस प्रदेशको पक्षमा मतदान हुँदा ९९ सांसद उपस्थित भएकोमा प्रस्तावको पक्षमा ८० मतमात्र परेको हो ।
सभामुख सरोजकुमार यादवले प्रदेशको नाम तोक्नका लागि आवश्यक दुई तिहाई मत पुगेकाले प्रस्ताव स्वीकृत भएको घोषणा गरे । प्रदेशको नाम मधेस पारित भएसँगै नामकरण सम्बन्धमा पेस भएका अन्य प्रस्ताव निस्क्रिय भएका छन् ।
यस्तै, प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ । कुल १ सय ४ सदस्य रहेको प्रदेश २ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । जसमध्ये मतदानमा स्थायी राजधानी जनकपुरधामको पक्षमा ७८ मत परेको छ ।
प्रदेशसभामा रहेका सबै दल जनकपुरधामलाई राजधानी बनाउन सहमत थिए । तर, पर्सा र आसपासका सांसदहरू भने वीरगञ्जको अडानमा थिए ।
अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ ।