सुर्खेत । माघे संक्रान्ति (माघी)लाई लक्षित गरेर छिमेकी देश भारतबाट ८ सय ७५ क्विण्टल सखरखण्ड (गञ्जी) कर्णाली भित्रिएको छ । गएको एक साता यतामात्रै भारतबाट आयात गरिएको उक्त सखरखण्ड सुर्खेत भित्रिएको हो ।
कृषि बजार व्यवस्थापन समिति सुर्खेतका अनुसार कर्णाली प्रदेशका जिल्लाहरुका लागि भनेर भारतका विभिन्न स्थानबाट गञ्जी खरिद गरि ल्याइएको हो । स्थानीय मागका आधारमा कर्णालीमा निकै कम उत्पादन भएपछि हरेक वर्ष यहि अनुपातमा गञ्जी आयात हुँदै आएको छ ।
कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक केशर रास्कोटीले भने, ‘कर्णालीका जिल्लाहरु सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, जाजरकोटलगायतका जिल्लाहरुकालागि गञ्जी आयात भएको हो । कृषिबजारमा रहेका फलफुल तथा तरकारी पसलहरुले मात्र उक्त परिमाणमा आयात गरेका हुन् ।’
रास्काटीका अनुसार भारतको उत्तरप्रदेश आसपासका विभिन्न जिल्लाहरुमा उत्पादन भएका गञ्जी कर्णालीको लागि आयात गरिएको हो । वीरेन्द्रनगरमा अहिले ६० देखि ७० रुपैयाँ केजी थोक मुल्यमा गञ्जी बिक्रिवितरण भईरहेको छ ।
यसपाली कर्णालीकालागि भनेरै भारतबाट तरुण भने आयात भएन । कृषिबजारमा रहेका फलफुल तथा तरकारी पसलहरुले चितवन र सुर्खेतबाटै तरुण खरिद गरेका छन् । ५५ कुन्टल चितवनबाट र ३५ कुन्टल सुर्खेतबाटै तरुण खरिद गरिएको हो ।
प्रदेशमै उत्पादनको सम्भावना के छ ?
प्रदेशमै खपतहुने कृषि वस्तु कर्णाली प्रदेशले आफै उत्पादन गर्न सक्दैन । धान–चामल लगायतका प्राय खाद्यवस्तु अन्य प्रदेश वा छिमेकी मुलुक भारतबाट आयात हुदै आएको छ । सम्भावनै–सम्भावना बोकेको भनिने कर्णाली प्रदेशमा गञ्जी उत्पादनका लागि पनि प्रशस्तै सम्भावना छ ।
खासगरी पाँगो तथा बलौटे माटो भएको जग्गामा गञ्जीको उत्पादन राम्रो हुन्छ । कृषि विज्ञ छवी पौडेल भन्छन्, ‘कर्णालीमा खोलाका बगर अथवा खोला पसेको भुभाग प्रशस्तै छन् । त्यो स्थानमा अन्य खेतिको उत्पाकत्व कम हुन्छ । तर उक्त स्थानमा गञ्जीको उत्पादन प्रशस्त मात्रामा गर्न सकिन्छ ।’
खेतिकालागि बिउँपनि सहज र धेरै मलखादको आवयश्क नपर्ने भएका कारण गञ्जी खेतिमा आन्दानी बढि हुने उनले बताए । गरिवीको संज्ञा पाएको कर्णालीका बालबालिकामा कुपोषण नियन्त्रणका लागि गञ्जी उपयुक्त पनि हुने उनले जानकारी दिए । उनले भने, ‘कर्णालीमा गञ्जीको उत्पादनमा बृद्विगर्दै यसको प्रयोगमा समेत बृद्विगर्न सके बालबालिकामा देखिने कुपोषण नियन्त्रणमा समेत सघाउ पुग्छ ।
के हो माघे संक्रान्ति ?
माघे संक्रान्तिका दिनलाई ‘पुसको पाक्य, माघको खाक्य’ पनि भन्ने चलन छ । पुसको अन्तिम दिन पकाउने माघको पहिलो दिनबिहान सूर्य नउदाउँदै नुवाइ–धुवाइ गरी परिकार खाने चलन छ । यहीदिन सूर्य धनु राशिबाट मकर राशिमाप्रवेश गर्दछ । यहीदिनलाई माघे संक्रान्ति, तलुवा संक्रान्ति र मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।
घिउ, चाकु, तरुल, सखरखण्ड, तिलको लड्डु र खिचडी यस दिनकाविशेष परिकार हुन् । माघमध्य हिउँदको एक महत्वपूर्ण महिना पनि हो ।
माघीको दिनदेखि सूर्यको दिशा उत्तरायण तर्फ लाग्दछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो बन्दै जाने देखिन्छ । यही दिनबाट हिउँद घट्दै जाने र वसन्तका साथगर्मी बढ्दै जाने मान्यता छ ।
खाद्यवस्तु/परिकारका फाइदा
माघीमा चामल, मासको दाल, घिउ, गरम मसलाको खिचडी बनाएर खाने चलनले हाम्रो संस्कृतिलाई जीवित त राख्छ नै, यसले हाम्रो शरीरलाई चाहिने प्रोटिन र चिल्लो पदार्थको पूर्ति गरी स्वास्थ्यमा राम्रो प्रभाव पार्दछ ।
तिलमा पाइने क्याल्सियम, लौहतत्व र तेलको चिकित्सकीय महत्वबारे आधुनिक चिकित्सा क्षेत्रमापनि छलफलको विषय बनेको छ । कुपोषित बालबालिकालाई तिलको सेवन लाभदायी मानिन्छ ।
मोलासेस अर्थात् चाकुपौष्टिक खाना हो । यसमा प्रशस्तमात्रामा क्याल्सियम र आइरन पाइन्छ । यसले शरीरमा निकै फाइदा गर्नेहुँदा सुत्केरी महिलालाई चाकु खुवाउने गरिन्छ । बालबालिकालाई अन्य गुलियो चकलेट, केकको साटो चाकुको सानो सानो टुक्रा, तिलको लड्डु बनाई वा चाकु दूधमा मिश्रण गरि दिनाले बच्चाको स्वास्थ्यमा फाइदा गर्ने कर्णाली प्रदेश अस्पतालका बालरोग विषेशज्ञ डा.नवराज केसीले बताए ।
उनले भने, ‘सखरखण्डमा भिटामिन ए, पानी र रेसादार तत्व पाइन्छ । यो गुलियो भएपनि यसको गुलियो पनाले शरिरमा कुनै हानी नगर्ने र शरिरलाई चाहिने प्रोटिन तथा पानीको कमी पुरा हुन्छ ।’ खाद्यवस्तु चाडपर्वमा मात्र नभई मौसम अनुसार खाने गरेमा शरिर स्वस्थ्य रहन मदत पुग्ने उनको भनाई छ ।
नयाँवर्षसँगै मुखिया चयन हुने पर्व
जिल्लाका थारु बस्तीमा माघी पर्वको रौनक छ । १ माघलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ । यसका साथै १ माघदेखि थारु संवत २६४४ सुरु हुँदैछ । घरबाहिर रहेका सदस्यहरु पनि माघी मनाउन आइसकेका छन् । थारु समुदायमा माघीसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ ।
थारु समुदायमा बंगुरको मासु, माछा, घोंगी, गङ्गेटालगायत खानाका परिकार माघिमा खाने गरिन्छ । यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लत्ताकपडाको पनि उचित जोहो हुने गरेको वीरेन्द्रनगर–१० का रणबहादुर चौधरीले जानकारी दिए ।
थारु समुदायमा गाउँका मुखिया, गुरुवा (धामीझाक्री) र चिरागी (कटवाल) पनि चयन गरिन्छ । गाउँमा सडक ममर्तदेखि सार्वजनिक कार्यक्रम, खोप कार्यक्रम लगायतको जानकारी चिरागी मार्फत दिइन्छ । सामाजिक काममा भल्मन्साको रोहबरमा निर्णय हुन्छ । ससाना विवाद पनि यही टिमले समाधान गर्छ ।
माघीको दोस्रो दिन २ माघमा गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ । त्यस दिन छलफलका माध्यामबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ । (काँक्रेबिहार)