सुर्खेत । बंगलादेशमा आयाेजित अर्न्तराष्ट्रिय कराँते प्रतियाेगितामा कर्णालीका खेलाडीले २ स्वर्ण पदक र २ काँस्य पदक पाउन सफल भएका छन् । बंगलादेश गोजुरियो कराँते दो संघको आयोजनामा गत डिसेम्बर २६ देखि २९ सम्म चलेको बि.जी. अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागी कर्णालीका खेलाडीले पदक जितेका हुन् ।
उनिहरू प्रतियाेगितामा भाग लिन आफ्नै खर्चमा बंगलादेश पुगेका थिए ।
प्रतियोगितामा सुर्खेतका प्रकाश खड्काले एकल कातामा १ स्वर्ण पदक र ७५ के.जी. कुमितेमा कास्य पदक जिते भने दैलेखका हिक्मत रोका मगरले ६५ के.जी. कुमितेमा १ स्वर्ण जित्न सफल भए । यस्तै, सुर्खेतका सन्दिप महतले ७० के.जी. कुमितेमा कास्य पदक जितेका थिए ।
आफ्नै निजी खर्चमा बंगलादेश पुगेका सुर्खेतका २ र दैलेखका १ खेलाडीले पदक जितेर फर्केको जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ ।
जिल्ला गोजुरियो कराँते संघ सुर्खेतले आजै एक कार्यक्रमको आयोजना गरी पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले सरोकारवाला निकायसंग कर्णालीका खेडालीको खेल सहभागिता र खर्चका सम्वन्धमा ध्यानाकर्षण गराइने बताए ।
उनले खेलकुद र खेलाडीको व्यवसायिकता सम्वन्धमा कर्णाली सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए।
नेपाल कराँते महासंघ कर्णाली प्रदेशका टेक्निकल कमिटीका अध्यक्ष प्रदिपकुमार राईले आफ्नै खर्चबाट पदक जितेर राष्ट्रको सान र कर्णालीको गौरव बढाएकोमा खेलाडीलाई बधाई दिंदै यसमा प्रदेश सरकार पनि जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
आगामी दिनमा प्रतियोगितामा अधिकतम पदक ल्याउने सितेरियो कराँते लगायतका मार्शल आर्ट्स र एथलेटिक्सका खेलाडीका लागि विशेष प्याकेज ल्याउनुपर्नेमा जोड दिए ।
उनले कर्णालीमा बढि भन्दा बढि प्रतियोगिता आयोजना गर्नुपर्ने र विभिन्न प्रतियोगिताहरुमा खेलाडीको सहभागिता बढाउन कर्णाली सरकारले जिम्मेवार भएर लाग्नुपर्ने बताए ।