सुर्खेत । काँक्रेविहार संरक्षित वन क्षेत्रको संरक्षणका लागि डिभिजन वन कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०७७/०७८ मा १८ लाख बराबरको रकम खर्च गरेको छ ।
कार्यालयद्वारा उक्त वन क्षेत्रका लागि २५ लाख रकम विनियोजित भएपनि १७ लाख ८० हजार २ सय ६३ रुपैयाँ खर्च भएको हो । जसमध्ये जरायोलाई पानी खाने पोखरी निर्माणमा ६ लाख ७ हजार १ सय २७ रुपैयाँ र घाँसका विरुवा रोपणमा ८ लाख ९३ हजार ८ सय ५६ रुपैयाँ खर्च गरिएको छ ।
यसैगरि अग्नीरेखा /पँहुच सडक निर्माण तथा मर्मत कार्य एक लाख २ सय र प्रवेश रोक सम्बन्धी सूचना प्रकाशनमा ४९ हजार ४ सय ९७ रुपैयाँ, बन हेरालुको लागि १ लाख २९ हजार ६ सय रुपैयाँ खर्च गरिएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ ।
रकम अनियमितताको आशंका
डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार संरक्षण वन क्षेत्रका नाउँमा विनियोजित रकम अनियमित गरेको आशंका गरिएको छ । कार्यालयले गत आर्थिक वर्ष २०७७/०७८ मा उक्त वन क्षेत्रका लागि विनियोजित रकमको प्रगती नदेखिएपछि रकम अनियमितताको आशंका गरिएको हो ।
तत्कालीन अवस्थामा डिभिजन वन कार्यालय प्रमुख गोविन्द प्रसाद दाहाल थिए । हाल मुन बहादुर रावतले कार्यालय प्रमुखकाे जिम्मेवारि सम्हालेका छन् ।
कार्यालयले ६ लाख ७ हजार १ सय २७ रुपैयाँ खर्च गरेर जरायोलाई पानी खाने पोखरी एउटा निर्माण गरेको छ । काँक्रेविहारको जन्तीसाल क्षेत्रमा पोखरी निर्माण गरिएको हो । उक्त पोखरीका लागि पानीको स्रोत भने छैन ।
पानीको स्रोत बिनै पोखरी निर्माण गरेपछि उक्त पोखरी प्रयोगबिहीन भएको छ । काँक्रेविहार संरक्षित क्षेत्र परिसरमै बुलबुले उद्यानबाट निकास भएको नहर भएपनि कार्यालयले पानीको स्रोतविहिन क्षेत्रमा पोखरी निर्माण गरेको हो ।
यतिमात्रै होइन, कार्यालयले वृक्षारोपणका लागि ८ लाख ९३ हजार ८ सय ५६ रुपैयाँ खर्च गरेको छ । जसमध्ये अमृसो विरुवा ७५ हजार, नेपीएर घाँस ७८ हजार १ सय २५ र उन्नत घाँसको विउ १ क्वीन्टल छरेको दाबी गरेको छ ।
कार्यालयले पिकनीक स्थल आसपास, पानी ट्यांकीको उत्तरी भाग, काँक्रेविहार मन्दिरको दक्षिण भाग, जन्तीसाल क्षेत्रको सडक छेउछाउमा वृक्षारोपण गरिएको जनाएपनि सो क्षेत्रमा वृक्षारोपण गरिएको विरुवा छैनन् । जसको कारण रकम अनियमित भएको आशंका गरिएको हो ।