सुर्खेत । आयोजक आफैलाई पत्र काटेर अधिवेशनमा बोलाउने प्रचलन कतै नभएको कांग्रेस केन्द्रीय सदस्य जीवन बहादुर शाहीले बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रथम प्रदेश अधिवेशनमा आफूलाई नबोलाएको भन्दै अनुपस्थित भएका पौडेल समूहका नेतालाई शाहीले यस्तो जवाफ दिएका हुन।
प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै शाहीले भने- ‘सकेसम्म उहाँहरु आफैले अधिवेशन सफल पार्न भुमिका खेल्नु पथ्र्यो । तर त्यसका विपरित नबोलाइएको भन्दै अनुपस्थित भएर निहुँ खोज्नु उचित होइन ।’ उनले भने ।
प्रदेश अधिवेशन आयोजनाका लागि जीवन बहादुर शाहीको संयोजकत्वमा पार्टीका केन्द्रीय सदस्य, पार्टीबाट निर्वाचित जनप्रतिनिधी, अधिवेशन हुने जिल्लाका पार्टी पदाधिकारीहरुको संयोजनमा आयोजक समिति गठन भएको थियो । जसले गर्दा नेता थानी आफै आयोजक हुन् ।
काँग्रेस केन्द्रीय सदस्य रहेका थानी आफै आयोजक समितिका पदेन सदस्य हुन् । उनी आफै आयोजक भैसकेपछि आफैलाई अधिवेशन बारे जानकारी नआएको भन्दै अनुपस्थित हुनु अस्वभाविक भएको काँग्रेस कार्यकर्ताको भनाई छ ।
प्रदेश अधिवेशन उद्घाटन समारोहमा केन्द्रीय सदस्य थानी, शिवराज जोशी, दीनबन्धु श्रेष्ठ, खड्ग बस्याल, प्रदेश सभापति पदका उम्मेदवार भुपेन्द्रजंग शाही लगायतका संस्थापनइतर (पौडेल) समुहका नेताहरु भने उपस्थित भएनन् ।
प्रदेश अधिवेशनमा भने उनीहरूलाई आसन ग्रहणको लागि नाम बोलाइएको थियो ।