सुर्खेत । सुर्खेत जिल्लाको जनसंख्या बढेको छ । राष्ट्रिय जनगणना २०७८ अन्तरगत गरिएको तथ्यांक संकलनमा ६० हजार बढीले जनसंख्या बृद्धि भएको हो ।
गत कार्तिक २५ गतेदेखि सुरु भएको राष्ट्रिय जनगणना बिहीबारदेखि सकिएको छ । यसपाली गरिएको जनगणनामा ६० हजारभन्दा बढी जनसंख्या बढ्ने अनुमान गरिएको कर्णाली प्रदेश जनगणना कार्यालय सुर्खेतका प्रमुख पोमनारायण पौडेलले जानकारी दिए ।
यसअघि २०६८ सालमा जनगणना गरिएको थियो । तत्कालीन अवधिमा सुर्खेतको जनसंख्या तीन लाख ५० हजार रहेको थियो ।
जनगणना कार्यालयका अनुसार यसपटक सुर्खेतका तीन पालीकामा जनसंख्या बढेको छ । करिव ६० देखि ७० हजारसम्म जनसंख्या बृद्धि भएपछि अब चार लाख १० हजार पुग्ने कार्यालयको अनुमान छ । जसमध्ये प्रदेश राजधानी रहेको वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोटमा धेरै जनसंख्या बृद्धि भएको अनुमान गरिएको छ ।
शहरीकरण भएका स्थानीय तहमा जनसंख्या तीव्र रुपमा बढेको पौडेलले बताए । जहाँ शहरीकरण छ, त्यहाँ जनसंख्या बृद्धि भएको छु उनले भने, वीरेन्द्रनगरमा मात्रै ६० प्रतिशतले जनसंख्या वृद्धि भएको छ । गणकले उपलब्ध गराएको विवरण अनुसार जनसंख्या बृद्धि हुनेमा वीरेन्द्रनगर पहिलो स्थानमा देखिएको छ ।
वीरेन्द्रनगरपछि भेरीगंगा र गुर्भाकोटमा धेरै जनसंख्या बृद्धि भएको अनुमान गरिएको छ । प्रादेशिक राजधानी भएका कारण वीरेन्द्रनगरमा जनसंख्या बृद्धि भएको हो भने भेरीगंगा र गुर्भाकोट शहरोन्मूख क्षेत्र भएका कारण जनसंख्या बृद्धि भएको जनगणना कार्यालयले जनाएको छ ।
सुर्खेतकै चौकुने, चिङ्गाड र सिम्तामा भने जनसंख्या बृद्धि न्यून छ । प्रदेशका अन्य जिल्लाहरुमा पनि गाउँघरमा जनसंख्या बृद्धि छैन । शहरीकरण भएका र सडकको पहुँच पुगेका स्थानमा मात्रै जनसंख्या बृद्धि भएको छ । सदरमुकामा पनि जनसंख्या बृद्धि खासै बृद्धि भएको छैन । समग्रमा प्रदेशभर थोरै मात्र जनसंख्या बृद्धि हुने जनगणना कार्यालयको अनुमान छ ।
प्रादेशिक कार्यालयका अनुसार सुर्खेतसहित कर्णालीका सबै जिल्लामा सहज रुपमा जनगणना सकिएको छ । कार्तिक २५ गतेदेखि देशभर सुरु भएको राष्ट्रिय जनगणना सुर्खेतसहित कर्णाली प्रदेशमा शान्तिपूर्ण रुपले सम्पन्न भएको छ ।