सुर्खेत । भोलीदेखि १२ औं राष्ट्रिय जनगणना शुरु हुने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको । केन्द्रीय तथ्यांक विभागले जनाएको छ । सोही अनुरुप कर्णाली प्रदेशमा पनि भोलीदेखि नै जनगणना सुरु हुने भएको हो ।
कर्णाली प्रदेश जनगणना अधिकारी पोमनारायण पौडेलका अनुसार मुख्यमन्त्री जीवन बहादुर शाहीको विवरण संकलन गरी शुरुआत गरिने भएको छ । विहान ८ बजे मुख्यमन्त्री शाहीको निवासमा औपचारिक कार्यक्रममार्फत जनगणना प्रारम्भ गरिने पौडेलले जानकारी दिए ।
मुख्यमन्त्री शाहीको विवरण संकलनपछि गणकहरुद्वारा वीरेन्द्रनगर बजार परिसरमा प्रभातफेरी कार्यक्रम गरिने पौडेलले बताए ।
उनका अनुसार सुर्खेत जिल्लामा पाँच सय १८ जना गणकहरु फिल्ड खटिने भएका छन् । यसअघि घरपरिवार सूचीकरणका लागि एक सय १६ जना सुपरिवेक्षकले संकलन गरेको विवरण अनुरुप गणकहरुले परिवारको व्यक्तिगत विवरण संकलन गर्ने पौडेलले जानकारी दिए ।
कार्तिक १५ देखि मंसिर ९ गतेसम्म संचालन हुने जनगणनामा सबैले अनिवार्य भाग लिन आग्रह समेत गरिएको छ ।