काठमाडौँ । नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेश राज्यको कानपुरमा लामखुट्टेले सार्ने जिका भाइरस संक्रमितको संख्या १५ दिनमा ८९ जना पुगिसकेको छ । आइतबार परीक्षण रिपोर्टको नतिजा आएसँगै १० नयाँ संक्रमित थपिदै संख्या ८९ पुगेको हो । शनिबार १३ नयाँ संक्रमित फेला परेका थिए ।
अक्टुबर २३ गते जिका भाइरसको पहिलो केश भेटिएको थियो । जुलाईमा पनि भारतको केरलामा जिका भाइरस भेटिएको थियो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कानपुरमा जिका भाइरसले आक्रमक रुपमा फैलिएसँगै परीक्षणलाई तीव्र बनाइ अस्पतालका पूर्वाधार विकासमा पनि विस्तार गनुपर्ने बताएका छन् । जिल्ला स्वास्थ्य विभागकाअनुसार हालसम्म कुनै पनि संक्रमितहरू गम्भीर छैनन् तर गर्भवती महिलाहरूलाई विशेष निगरानीमा राखिएको छ ।
भाइरस सार्न सक्ने लामखुट्टे जतासुकै भएकाले नेपाल जोखिममा रहेको विज्ञहरू बताएका छन् । स्वास्थ्य विज्ञहरू जिका संक्रमण नेपाल जहिल्यै पनि जिकालगायत अरु संक्रामक रोग भित्रन सक्ने उच्च सम्भावना रहेको बताउँछन् ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्तपालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालका धेरै क्षेत्रमा जिका गराउने एडिस जातको लामखुट्टे प्रसस्त पाइने हुनाले नेपाल सधैं जोखिममा नै रहेको बताउँछन् ।
उनका अनुसार स्वयम् संक्रमितमा उच्च जटिलता जस्तै मृत्यु नै हुने अवस्था नभएतापनि गर्भवती महिलामा संक्रमण भयो भने जन्मिने बालबालिकामा समस्या आउने भएकाले यसमा ध्यान दिइनुपर्छ । ‘यदि केहीगरी बच्चा अपांग जन्मियो भने त्यो त देशकै लागि नै आर्थिक भार हो नि, ’ उनले भने, ‘ डेंगुजस्तो लक्षण मिल्दोजुल्दो हुन्छ त्यसैले मानिस झुक्किन सक्छन् तर यो अलि कडा हुँदैन । पछिल्लो समय डेंगु पनि देखिरहेको छ । त्यो भनेको लामखुट्टे पनि मजाले सक्रिय भइराखेको छ भन्ने बुझिन्छ ।’
के हो जिका भाइरस ?
संक्रमित व्यक्तिलाई एडिस (दिउँसो टोक्ने) लामखुट्टेले टोकेर अरूलाई टोके जिका भाइरस सर्छ । विश्व स्वास्थ्य संगठनकाअनुसार संक्रमित हुनेमा हल्का ज्वरो, टाउको दुख्ने, मासंपेशी र जोर्नीमा डाबर आउने, आँखा रातो हुने लगायतका लक्षणहरू देखिन्छन् । यी लक्षणहरू २ देखि ७ हप्तासम्म रहन्छन् । कसैलाई लक्षण नदेखिन पनि सक्छ ।
यो भाइरसको उच्च जोखिममा भने गर्भवती महिला रहेको पाइएको छ । यो भाइरस संक्रमित गर्भवती महिलाबाट जन्मिने शिशुमा, रगत आदानप्रदान र यौनसम्पर्क तथा अंग प्रत्यारोपणबाट पनि सर्ने गरेको पाइएको छ । संक्रमित गर्भवती महिलाबाट जन्मने सन्तानमा असामान्य रुपले टाउको सानो हुने ‘माइक्रोसेफली’ हुन्छ ।
यो भाइरसले ‘गिलान बारे सिन्ड्रोम’ पनि गराउन सक्छ । यो एउटा नसासम्बन्धी समस्या हो, जसमा शरीरको रोग प्रतिरोधी क्षमताले नसाका कोषहरूलाई आक्रमण गर्दछ । यसले मासंपेशी कमजोर बनाउनुका साथै कहिलेकाहीँ पक्षघातसमेत गराउन सक्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरस १९४७ मा सबैभन्दा पहिले युगाण्डामा बाँदरमा पहिचान गरिएको थियो । पछि १९५२ मा तान्जानिया र युगाण्डामा मानिसमा भेटिएको थियो । एसिया तथा प्रशान्त क्षेत्र, अफ्रिका, अमेरिकामा जिकाले महामारीको रुप लिइसकेको छ । सन् २०१५ मा ब्राजिलमा जिका भाइरस महामारीको रुपमा फैलिएको थियो ।
संक्रामक रोगको परीक्षण फितलो
संक्रामक रोग सजिलै सर्ने भएकाले जुनसुकै देश पनि संक्रमणको जोखिममा रहन्छन् । त्यसमाथि हरेक पटक जब छिमेकी मुलुक भारतमा संक्रामक रोग देखा पर्छन् नेपाल पनि उत्तिकै जोखिममा हुन्छ । तर अध्ययन अनुसन्धान नहुँदा ती रोगहरुको पुष्टि हुन सकेको देखिँदैन ।
संक्रामक रोग विशेषज्ञ डा. पुन सरकारले संक्रामक रोगहरूलाई अध्ययन अनुसन्धानको दायरामा ल्याइनुपर्ने सुझाउँछन् । ‘नेपालमा जिका भाइरसको विस्तृत रुपमा परीक्षण अहिलेसम्म भएको छैन । परीक्षण नभएकाले नेपालमा खासगरी यसको अवस्था के छ भनेर बुझ्न गार्हो छ । अध्ययन आवश्यक छ, ’ डा. पुनको भनाइ छ । उनले नेपालमा जिका भाइरसको संक्रमण देखिएपनि यससम्बन्धी भावी रणनीति बनाउन सजिलो हुने बताए ।
जिका भाइरसलगायत अरु संक्रामक रोगको परीक्षण गर्न सक्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि ध्यान गएको देखिँदैन । प्रयोगशालाकी निर्देशक डा. रुणा झाले प्रयोगशालालाई अनुसन्धान प्रयोगशालाको रुपमा विकास गरिए यस्ता रोगहरूको बारेमा अध्ययन नियमित रुपमा हुने बताउँछन् ।
उनले संक्रामक रोगको परीक्षणका लागि १ महिना अगाडी नै रिएजेन्टहरू अर्डर गरेतापनि आइनसकेको बताइन् । डा. झा भन्छिन्, ‘हालसम्म जिका भाइरसको परीक्षण भएको छैन । । हामीले विश्व स्वास्थ्य संगठन तथा सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सिडिसी) मार्फत पनि १० हजार रिएन्जेन्ट सहयोगका लागि अनुरोध गरेका छौँ साथै सपोर्ट अर्डर गरेको रिएजेन्टको पर्खाइमा पनि छौ’ ।
उनकाअनुसार परीक्षण गर्नका लागि रिएन्जेटहरू म्यादसँगै आउँछन् समाप्ती मिति सिद्धिहाल्यो त्यसको रिप्लेस हुँदैन । ‘महँगो रिएन्जेटहरू स्टकमा राख्ने वा नराख्ने टुंगो हुँदैन । एउटा नियमित गरिराख्यो भने अपडेट भइन्छ फेरि कुनै अर्को रोग आयो त्यसपछि खोज्न थाल्दा अप्ठ्यारो हुन्छ । नियमित अनुसन्धान भयो भने राम्रो हुन्छ, ’ उनले भनिन् ।
जिका भाइरसको हालसम्म कुनै पनि उपचार तथा खोप पत्ता लागिहालेको अवस्था छैन त्यसैले संक्रमण फैलाउने लामखुट्टेको नियन्त्रणमा ध्यान दिन आवश्यक रहेको विज्ञहरू बताउँछन् । (कान्तिपुरबाट)