महाबु । दैलेख को महाबु गाउँपालिका -२ बडाखोलामा पहिलो वडाअध्यक्ष कप भलिबल प्रतियोगिता सुचारु भएको छ । कार्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आज उद्घाटन भएको हो ।
वडा कार्यालयको आयोजनामा संचालन भएको उक्त कार्यक्रममा भलिबल प्रतियोगिता समावेश गरिएको छ । प्रतियोगितामा प्रत्येक वडाबाट एक – एक समूह सहभागी हुने आयोजकले जनाएको छ । यद्दपि गितचौर युवा क्लवले टीम दर्ता गरेपछि वडा नम्बर -४ बाट २ ओटा समूहले प्रतियोगितामा भाग लिने भएका छन् ।
खेलमा विजयी समूहले प्रथम नगद रु. २० हजार, दोस्रो १५ हजार र तृतीय समूहले रु १० हजार र सान्तवनाले नगद पाँच हजार सहित कप, मेडल र प्रमाणपत्र पाउने वडा अध्यक्ष रामकृष्ण गुरुङले जानकारी दिए ।
खेलको आज औपचारिक उद्घाटन गर्दै महाबु गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीले स्वास्थ्य र राष्ट्रका लागि खेल आवश्यक भएको बताए । उनले राष्ट्रको पहिचान बनाउने लक्षका साथ खेलाडीहरू तयारी रहन खेलाडीलाई आग्रह गरे ।
उनले प्रतियोगितामा अनुशासित र मर्यादित भएर खेलमा सहभागी आग्रह गर्दै सफलतापूर्वक कार्यक्रम सम्पन्न गराउन अनुरोध गरे ।
उद्घाटन कार्यक्रमका अध्यक्ष समेत रहेका वडा अध्यक्ष गुरुङले खेल क्षेत्रको जगेर्ना गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।