अछाम । अछाममा उच्च रक्तस्रावका कारण गर्भवती महिलाको ज्यान गएकाे छ ।
अछामको तुर्माखाँद गाउँपालिका-१ रहफकी पूर्णकला विकको उच्च रक्तस्रावका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।
बिहीवार राति ८ बजे प्रसव पीडा भएपछि रहफ स्वास्थ्य चौकी लगिए पनि विकको हिजाे बिहान ५ बजे ज्यान गएकाे स्वास्थ्य चौकीकी अनमी गीता लम्सालले जानकारी दिए।
घरमा व्यथा लागेपछि विकलाई स्वास्थ्यचौकी लगिएको थियाे । उनकाे रक्तस्रावका कारण बच्चा जन्माउन नसक्दा ज्यान गएकाे स्वास्थ्य चौकी रहफले जनाएको छ । भौगोलिक विकटताका कारण समयमै अस्पताल पुर्याउन नसक्दा उहाँको ज्यान गएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए।
यसअघि गम्भीर समस्या भए लगत्तै गर्भवती महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरिँदै आएकाे भए पनि समयमै जानकारी नभएकाले विकलाई बचाउन नसकिएको मल्लले बताए ।
अछामकै विकट मानिएको तुर्माखाँद गाउँपालिकाका बस्तीहरुमा यातायातको सुविधाको नभएका कारण पटक पटक यस्ता घटनाहरु दाेहाेरिने गरेका छन् ।