जाजरकोट । जिल्लाको भेरी नगरपालिकामा सङ्क्रामक रोग दादुरा देखिएको छ । हप्ता दिनभन्दा बढी रुघाखोकी र ज्वरोको लक्षण देखिएकी एक बालिकाको स्वाब परीक्षण गर्दा दादुरा पुष्टि भएको हो । सामुदायिक स्वास्थ्य केन्द्र पिपेका इन्चार्ज दलराज विकले भेरी नगरपालिका-१, रावतगाउँकी नौ वर्षीया बालिका रन्जिता विकलाई दादुरा पुष्टि भएको जानकारी दिए ।
रुघाखोकी र ज्वरोले धेरै दिनसम्म घरमै थला परेपछि रन्जितालाई गत साउन महिनाको अन्तिम सातामा जाँच गराउन सामुदायिक स्वास्थ्य केन्द्र पिपेमा लगिएको आमा हसना विकले बताइन । स्वास्थ्य केन्द्रले बालिकालाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको उपचार शाखामा रिफर गरेको थियो । शाखाले परीक्षणका लागि रन्जिताको स्वाब नेपालगञ्ज पठाएको थियो ।
नेपालगञ्जको प्रयोगशालाले पठाएको रिपोर्ट अनुसार दादुरा पुष्टि भएपछि रन्जितालाई एक हप्तासम्म अस्पतालमै राखेर उपचार गरिएको आमा हसनाले बताइन । अस्पतालमै राखेर गरिएको उपचारबाट बालिकालाई अहिले सन्चो भइसकेको उनको भनाइ छ ।
जन्मेको १५ महिनाभित्रै दादुरा, रुबेलालगायतका १० वटै खोप रन्जितालाई लगाएको आमा हसनाले दाबी गरिन । खाेप लगाएकी बालिकालाई दादुरा पुष्टि भएपछि खोपसम्बन्धी विश्व स्वास्थ्य सङ्गठनले नै अध्ययन तथा अनुसन्धानको विषय बनाएको भेरी नगर स्वास्थ्य शाखाको सहसंयोजक निशा थापा केसीले बताएन ।
बालिकालाई सङ्क्रामक रोग दादुरा पुष्टि भएपछि कन्ट्रयाक परीक्षणको लागि विश्व स्वास्थ्य सङ्गठनमा कार्यरत डाक्टरहरूको एक टोलीले रावतगाउँका १८ जनाभन्दा बढीको स्वाब सङ्कलन गरेर लिइएको सामुदायिक स्वास्थ्य केन्द्र पिपेका इन्चार्ज विकले जानकारी दिए ।