काठमाडाैं । नेपाली कांग्रेसको गाउँपालिका र नगरपालिकाको अधिवेशन सरेको छ । कांग्रेसको २१ जिल्लामा क्रियाशील सदस्यता विवाद चर्किएपछि संस्थापनइतर पक्षले पालिका अधिवेशन रोकेर क्रियाशील सदस्ता विवाद टुंग्याउन माग गरेका थियो । कांग्रेस पदाधिकारी बैठकले गाउँ-नगरपालिका अधिवेशनदेखि जिल्ला अधिवेशनको नयाँ मिति प्रस्ताव गरेको छ।
पदाधिकारीको शुक्रबार बसेको बैठकले गाउँ-नगरपालिका, प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशनको मिति हेरफेर गरेको हो।
यस्तै असोज १ गतेका लागि निर्धारित प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज ११ गते, असोज ५ गतेका लागि तय गरिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन असोज १३ गते प्रस्ताव गरिएको स्रोतले जनाएको छ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशनको मिति असोज १६ का लागि प्रस्ताव गरिएको छ। यसअघि उक्त अधिवेशन असोज १० गते गरिने निर्णय गरिएको थियो।
कांग्रेस स्रोतले क्रियाशील सदस्यता नामावली सार्वजनिक नभएका सवै जिल्लाहरुमा भदौ ५ गते वडा अधिवेशन गरिने जनाएको छ।
कांग्रेसले २० जिल्लाको नामावली सार्वजनिक गरेको छैन। स्रोतका अनुसार आगामी कार्तिक १०–१२ मा हुने भनिएको क्षेत्रीय अधिवेशन र मंसिर ९–१३ मा हुने भनिएको केन्द्रीय महाधिवेशनको मिति भने यथावत राखिएको छ।