महाबु । दैलेखको महाबु गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सुधार गर्न पूर्वाधार निर्माणमा विशेष जोड दिएको छ । गाउँपालिकाले स्थानीय सरकार गठन भएपश्चात २७ करोड बराबरको लागतमा स्वास्थ्य भवन निर्माण गरेको छ । तीमध्ये केही भवन सम्पन्न भैसकेका छन् भने केही निर्माणधीन अवस्थामा छन् ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सुधारका लागि गाउँपालिकाभित्र रहेका विभिन्न स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईमा समेत पूर्वाधार निर्माण गरेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए ।
प्रत्येक वडामा एक स्वास्थ्य चौकी र आवश्यकता अनुसार टोल–समुदायका लागि सामुदायिक स्वास्थ्य इकाई संचालन गरिएको अध्यक्ष शाहीको भनाई छ ।

महाबु अस्पताल सञ्चालनका लागि दश करोड लागतमा भवन निर्माण कार्य सुरु भैसकेको छ भने सोही अस्पतालकै लागि ६ करोड लागतमा भवन निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाका सव–ईन्जिनियर योगेन्द्र रावलले जानकारी दिए ।
यस्तै, पाँच करोड रुपैयाँ लागतमा काँसिकाँध स्वास्थ्य चौकी भवन निर्माण कार्य सुरु भैसकेको छ भने ४ करोड बराबरको लागतमा बडाखोला स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भैसकेको सव–ईन्जिनियर रावलले बताए ।

उनका अनुसार ४५ लाख लागतमा एकपाटे स्वास्थ्य चौकी भवन निर्माण, २५ लाख लागतमा खरिगैरा स्वास्थ्य चौकी भवन निर्माण र ३० लाख लागतमा बाँसी स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ भने १३–१३ लाख लागतमा गिताचौर स्वास्थ्य इकाई र टाकुरी स्वास्थ्य इकाईका लागि वर्थिङ्ग सेन्टर निर्माण गरिएको छ ।
यस्तै, कोभिड–१९ आइसोलेशन अस्पतालका लागि ८० लाखमा प्रिफेव भवन निर्माण गरि हाल महाबु अस्पताल सञ्चालन भैरहेको सव–ईन्जिनियर रावलले जानकारी दिए ।




पूर्वाधार बनेपछि उपकरण र जनशक्ति व्यवस्थापनमा केन्द्रित हुन्छौं : अध्यक्ष शाही
महाबु गाउँपालिकामा जनस्वास्थ्य सुधारका लागि प्रत्येक वडामा रहेका स्वास्थ्य चौकी भवन निर्माण गरिएको अध्यक्ष शाहीले जानकारी दिए । उनले आवश्यकता अनुसार स्वास्थ्य चौकी भवन निर्माण गरिएको र केही भवनहरु निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए ।
स्वास्थ्य संस्थाका लागि भवन निर्माण भएपश्चात आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनतर्फ योजना केन्द्रित हुने अध्यक्ष शाहीले जानकारी दिए । ‘पूर्वाधार निर्माण भैसकेका छन्, केही भवनको काम सुचारु अवस्थामा रहेका छन्’ अध्यक्ष शाहीले भने, ‘आगामी दिनमा ती भवनबाट सेवा सुचारु गर्न आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा केन्द्रित बजेट सुनिश्चित गर्ने योजना बनाएको छु ।’