काठमाडौं । नयाँ आर्थिक वर्ष २०७८/७९ को कार्यान्वयन भएसँगै सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारी तथा पदाधिकारीको सेवा सुविधामा समेत वृद्धि भएको छ । सरकारले अध्यादेशबाट ल्याएको बजेटमार्फत कर्मचारीको पारिश्रमिक मासिक २ हजार रुपैयाँले बढाउने निर्णय गरेको थियो । सोही अनुसार पदाधिकारीहरुको तलबमान समेत वृद्धि भएको छ ।
अर्थ मन्त्रालयका अनुसार नेपाल सरकारले ३ भदौमा नेपाल सरकारका विभिन्न ओहदाका पदाधिकारीको तलबमान निर्धारण गर्ने निर्णय गरेको छ । यो बढेको तलबमान १ साउनबाटै कायान्वयनमा आउने छ । अर्थले भने सोमबार राजपत्रमा प्रकाशित गर्दै पदाधिकारीको तलबमान सार्वजनिक गरेको हो । बढेको तलब अनुसार उपप्रधानमन्त्रीको तलब ७७ हजार ६४० रुपैयाँ पुगेको छ । मन्त्रीको तलब भने ७२ हजार ७३० रुपैयाँ पुगेको छ । राज्यमन्त्रीले ६९ हजार ३० रुपैयाँ र सहायक मन्त्रीले ६७ हजार ५ सय ३० रुपैयाँ पाउने भएका छन् ।