सुर्खेत । दैलेखको भैरबी गाउँपालिकाले नदीजन्य पदार्थ (ढुंगा, गिटि बालुवा) निकासीका लागि टेण्डर आह्वान गरेको छ । गाउँपालिकाले छामघाट खोला र गडाज्युला खोलाबाट नदीजन्य पदार्थ निकासीका लागि भदौं १० गते १५ दिने सूचना प्रकाशित गरेको हो ।
गाउँपालिकाले छुट्टा/छुट्टै प्रकाशित गरेका उक्त टेण्डर आह्वानका सूचनामा के–कति परिणाममा नदीजन्य पदार्थ निकासी गर्न पाउने भनी उल्लेख गरिएको छैन । जसको कारण गाउँपालिकाकाे बदमासी भएकाे देखिएको हो ।
ढुंगा, गिट्टि, बालुवा बिक्रि तथा व्यवस्थापन सम्बन्धी मापदण्डको दफा ४ को उपदफा (५) मा नदीजन्य पदार्थ उत्खनन्, संकलन र विक्रि वितरणको ठेक्का बन्दोवस्त सम्बन्धी सूचना अनुसूची–२ बमोजिमको ढाँचामा प्रकाशित गर्नुपर्नेछ भनी स्पष्ट खुलाईएको छ । यद्यपी भैरबी गाउँपालिकाले अनुसूची–२ मा तोकिएको उत्खनन् परिणाम उल्लेख नगरि सूचना प्रकाशित गरेको हो ।
गाउँपालिकाले छामघाट खोलाबाट नदीजन्य पदार्थ निकासीका लागि सेवा शुल्क र भ्याट बाहेक न्युनतम दरभाउ रकम १५ लाख आह्वान गरेको छ भने गडाज्युला खोलाबाट नदीजन्य पदार्थ निकासीका लागि न्युनतम दरभाउ रकम पाँच लाख उल्लेख गरी सूचना प्रकाशन गरेको छ । सूचनामा उल्लेखित रकम बमोजिम के–कति नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने भनी परिणाममा तोकिएको छैन । जसको कारण गाउँपालिकाले मनोमानी ढंगले नदीजन्य पदार्थ निकासी गर्न लागेको बुझिन्छ ।
गाउँपालिकासँग छैन आईईप्रतिवेदन
भैरबी गाउँपालिकाले प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकन (आईई) अध्ययन प्रतिवेदन बिनै ठेक्का प्रक्रिया अघि बढाएको छ । आईई प्रतिवेदन तयार नभएकै नदीजन्य पदार्थ निकासीका लागि टेण्डर आह्वान गर्न १५ दिने सूचना प्रकाशित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले जानकारी दिए ।
‘गाउँपालिकासँग कुन–कुन खोलाबाट कति परिणाममा ढुंगा, गिटि बालुवा निकासी गर्ने भनी आईई प्रतिवेदन तयार भैसकेको छैन’ उनले भने, ‘आईई प्रतिवेदन नभएपनि टेण्डर आह्वान गरिदिएका हौं । आईई प्रतिवेदन बनाउन सुर्खेतमा रहेको एक कन्सल्टेन्सीलाई जिम्मा दिएका छौं ।’
‘गाउँपालिकाले नदीजन्य पदार्थको संकलन, उत्खनन् र विक्रि गर्दा सोही सम्बन्धी कार्ययोजना तयार गरी गाउँ कार्यपालिकाबाट स्वीकृत गराउनुपर्दछ ।’ भनी ढुंगा, गिट्टि, बालुवा बिक्रि तथा व्यवस्थापन सम्बन्धी मापदण्डमा स्पष्ट उल्लेख गरिएको छ । यद्यपी यससँग सम्बन्धीत विषयवस्तुमा आफु जानकार नभएको भैरबी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले जानकारी दिए ।
‘मलाई यससम्बन्धी जानकारी छैन । कार्यपालिकाबाट कुनै निर्णय भएका छैनन्’ दुल्लूखबरसँगको टेलिफोन कुराकानीमा अध्यक्ष बुढाले भने, ‘हाकीमसाब सँग कुरा गर्नुहोस् ।’
टेण्डर आह्वान भैसकेपनि कार्यपालिकाले हालसम्म नदीजन्य पदार्थ निकासीका लागि कुनै कार्ययोजना नबनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले जानकारी दिए । ‘कार्ययोजना, आईई प्रतिवेदन केही पनि तयार गरिएको छैन । टेण्डर आह्वान गरिसकियो’ उनले भने, ‘प्रत्येक वर्ष यसैगरि गर्ने गरेका छौं । पछि मिलिहाल्छ ।’
साथै, प्रमुख प्रशासकीय अधिकृत पंगालीले चालु आर्थिक वर्ष सुरुभएदेखि हालसम्म कार्यपालिका बैठक नबसेको बताए ।
ढुंगा, गिट्टि, बालुवा बिक्रि तथा व्यवस्थापन सम्बन्धी मापदण्डको दफा ४ को उपदफा (३) मा नदीजन्य पदार्थको संकलन, उत्खनन् र विक्रि कार्यको लागि ठेक्का व्यवस्था गर्नु पूर्व अनुसूची–१ बमोजिमको चेक लिष्ट तयार गरि प्राविधिकबाट स्थलगत अनुगमन गराई ठेक्का बन्दोवस्त गराउनुपर्ने उल्लेख छ । यद्यपी गाउँपालिकाले मापदण्डको सोही दफा समेत विपरित हुनेगरि काम गर्दै आएको छ ।
गतवर्ष कति परिणाम उत्खनन् भयो थाहा छैन : प्रमुख प्रशासकीय अधिकृत पंगाली
भैरवी गाउँपालिका अन्र्तगत पर्ने खोलाबाट गत आर्थिक वर्षमा के–कति परिणाममा नदीजन्य पदार्थ उत्खनन् भयो भन्ने एकिन तथ्यांक आफुहरुसँग नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले जानकारी दिए । ‘गत वर्ष के–कति परिणाम निकासी भयो त्यसको एकिन तथ्यांक गाउँपालिकामा छैन’ उनले भने, ‘छामघोलाबाट नदीजन्य पदार्थ निकासी गर्न दश लाख र गडाज्युला खोलाबाट २ लाख बढि न्युनतम दरभाउ रकम गाउँपालिकाको खातामा जम्मा भएको थियो ।’
आईई प्रतिवेदन बिना टेण्डर गर्न मिल्दैन : जिसस प्रमुख
प्रारम्भिक वातावरण प्रभाव मुल्यांकन (आईई) प्रतिवेदन बिनै नदीजन्य पदार्थ निकासीका लागि टेण्डर आह्वान गर्न नमिल्ने जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले जानकारी दिए । उनले आईई प्रतिवेदन बिनै आह्वान गरिएको सूचना अवैध भएको बताए ।
‘नदीजन्य पदार्थ निकासीका लागि आईई प्रतिवेदन बनाएरमात्रै पालिकाहरुले टेण्डर आह्वान गर्ने भनी जिल्लासभाबाटै नीतिगत रुपमा पारित भएको हो’ उनले भने, ‘यसरी जिल्ला सभाकै निर्णय विपरित भएको हो भने उक्त सूचना अवैध हुन्छ । कारबाहीको दायरामा ल्याउछौं ।’