सुर्खेत । सौगात रावतको जग्गा विक्रि गर्दा सन्तोष ठाकुरको औंलाछाप भएको प्रमाणित भएको छ । केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौंमा गरिएको प्रयोगशाला परिक्षणबाट सन्तोष ठाकुरकै औंठाछाप प्रयोग गरिएको प्रमाणित भएको हो ।
जग्गाधनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा नामसारि गरेको अभियोगमा १९ जनाविरुद्व सुर्खेत जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ३२ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जाहेरीमा नेपाल सरकारले अभियोग पत्र दायर गरेको हो । सोही बमोजिम छानबिन गर्ने क्रममा रावतको जग्गा बेच्दा प्रयोगशालाको प्रतिवेदन अनुसार जग्गा विक्रि गर्नेमा सन्तोष ठाकुर र किन्ने व्यक्तिको औंलाछापमा सहबिर कार्कीको दायाँ र बायाँ हातको बुढीऔलाको औलाछाप प्रयोग गरिएको प्रमाणित भएको हो ।
योसँगै जग्गाधनीबिनै सम्बन्धित व्यक्तिको सहीछाप नगरि कर्मचारी र सन्तोष ठाकुरको मिलमतोमा जग्गा किनबेच भएको बुझिएको छ । जग्गा किनबेच हुँदा मालपोत र नापी कार्यालयमा स्वयंम व्यक्तिको नभै फरक–फरक व्यक्ति प्रयोग गरिने औलाछाप र दस्तखतबाट जग्गा नामसारी भएको हुँदा कर्मचारी र ठाकुरको संलग्नता रहेको प्रष्टै देखिन्छ ।
जग्गा नामसारि गराउने कार्यमा संलग्न भएको आरोपमा तत्कालीन मालपोत कार्यालय प्रमुख लक्ष्मी खत्री, मालपोत कार्यालयकै विश्वरुप सावद, कमला सापकोटा, कृष्ण थापा, तिर्थ बहादुर महतारा, नापी कार्यालय सुर्खेतमा कार्यरत कार्यालय प्रमुख राजेन्द्र थापा, भिमलाल आचार्य, दिपेन्द्र पुलामीविरुद्व मुद्दा दायर भएको थियो ।
यसैगरि वीरेन्द्रनगर–१३ गुप्तिपुरका ३० वर्षीय सुनिल राना, वीरेन्द्रनगर–१२ नेवारेका ३३ वर्षीय उत्तम अधिकारी, चनौटेका ५० वर्षीय राम कुमार दर्लामी, वीरेन्द्रनगर–११ धुलियाविटका ३४ वर्षीय दिपेन्द्र श्रेष्ठविरुद्व मुद्दा दायर गरिएको हो । वीरेन्द्रनगर–२ बांगेसिमलका ६८ वर्षीय सहविर कार्की, वीरेन्द्रनगर–४ का ५७ वर्षीय नारायण बहादुर बुढाक्षेत्री, चिंगाड गाउँपालिका–५ भर भई हाल वीरेन्द्रनगर–१ गैरी बस्ने २५ वर्षीय चाँदनी वली, वीरेन्द्रनगर–११ पिपिरा बस्ने ३१ वर्षीय विश्वरुप सावत, वीरेन्द्रनगर–६ गणेशचोक बस्ने अम्मर सिंह कटुवाल, वीरेन्द्रनगर–२ बस्ने गोरख बहादुर बुढा भन्ने गणेश बुढा, वीरेन्द्रनगर–५ बस्ने निर्मल पुरी, वीरेन्द्रनगर–२ बस्ने सन्तोष ठाकुरविरुद्ध मुद्दा दायर भएको छ ।
जिल्ला अदालत सुर्खेतका न्यायाधीश दिलप्रसाद सापकोटाको एकल इजलासले मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप साउँदसहित १४ जनालाई धरौटीमा छोड्न आदेश दिएको थियो ।
जग्गा प्रकरणमा संलग्न अभियुक्तलाई पक्राउ परेको समय अर्थात मुद्दा किनारा नलाग्दासम्म स्वतः निलम्वन हुनुपर्ने भएपनि जिल्ला अदालत सुर्खेतले सामान्य धरौटीमा उनीहरुलाई छोडेको थियो । साथै, धरौटीमा छुटेका कर्मचारीहरु हाल कार्यालयमा दैनिक हाजिर भैरहेका छन् ।