सुर्खेत । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–५ मा मुख्यमन्त्री रोजगार कार्यक्रम वडामा गएको कुल बजेटमध्ये झण्डै आधा रकम हिनामिना गरिएकाे आराेप लागेकाे छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कुल बजेट ५५ लाख रुपैयाँमध्ये साढे पाँच लाख रूपैयाँ प्राविधिक खर्च देखाएपछि बजेट हिनामिना गरेकाे स्थानीयले आराेप लगाएका हुन् ।
वडामा मुख्यमन्त्री रोजगार अन्तर्गत कुल बजेट ५५ लाख रुपैयाँमध्ये ५१ लाख लाख १७ हजार ९ सय ६० रुपैयाँ निमासा भएको, सामान खरिदमा ४ लाख ६६ हजार खर्च, प्राबिधिक खर्च ५ लाख ५८ हजार, उपभोक्ता समितिको व्यवस्थापनमा खर्च २ लाख ९७ हजार खर्च गरेर बेरोजगार लाभग्राहीले ३८ लाख ९ सय ६० रुपैयाँ मात्र पाएका छन् । मुख्यमन्त्री रोजगारको कुल रकममध्ये झण्डै आधा रकम हिनामिना भएको भन्दै बेरोजगार लाभग्राहीले वडा कार्यालयमा ताला लगाउनुका साथै सघर्ष समिति गठन गरेका छन् ।
मुख्यमन्त्री रोजगारको कुल विनियोजित रकममध्ये कन्टीजेन्सी, छुट्टै प्राबिधिक खर्च लिएको देखिएकाले हामीले सघर्ष समिति नै गठन गरेर वडा कार्यालयमा ताला लगाउनुका साथै आन्दोलनमा उत्रिएका सघर्ष समितिका चंचल सहकारीले बताए । ‘बेरोजगारलाई रोजगारी दिने उद्देश्यले कार्यक्रम संचालनमा आएको हो ।’ उनले भने,‘यहाँ त बेरोजगारका नाममा आधाभन्दा बढी रकम हिनामिना भएको छ ।’
स्थानीय राजनीतिक दल र लाभग्राहीले मिलेर रकम हिनामिना गर्नेलाई कारवाहीको सिफारिस गर्ने निर्णय भएको त्यसका लागि गाउँपालिका सबै राजनीतिक दल एक भएको तर, जनप्रतिनीधि र सम्बन्धित कर्मचारीहरु अहिले गाउँमा कोही नभएको सहकारीले जानकारी दिए ।
नेपाल सरकारबाट सेवासुविधा खादै आएका कर्मचारीले प्राविधिक खर्च भन्दै मोटो रकम असुल्नु अनियमितता नै भएको हो । प्रति ब्यक्ति २४ हजारका दरले वितरण गर्नु पर्ने रकम १५ हजारका दर वितरण गर्न लाग्दा स्थानियवासिले रकमको छलफल नहुँदासम्म वडा कार्यालय खोल्न नदिने भन्दै स्थानीयबासीले वडा कार्यालयमा ताला लगाएका थिए ।
वडा अध्यक्ष गगन फडेराका पक्षले आफुहरुले कुनै गलत नगरेको बताए । राजनैतिक पुर्वाग्रह राखी आफुहरुसँग जहिले पनि बिना कारण निहुँ खोज्ने गरेको उनले बताए ।