सुर्खेत — पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सुर्खेतका स्वास्थ्य संस्था, सुरक्षा निकाय र सामाजिक संघसंस्थालाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
आफ्नो व्यक्तिगततर्फबाट करिब ५० लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरेको उनको निजी सचिवालयले जनाएको छ ।
सुर्खेतका आयुर्वेदिकसमेत ३ अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, ४७ स्वास्थ्यचौकी, ९ स्थानीय तह, नेपाल परिवार नियोजन संघ, कर्णाली प्रदेश प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको महेश्वरी बाहिनीमार्फत कोरोना महामारीमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरिएको उनका प्रतिनिधि विष्णुबहादुर खड्काले जनाए ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति र नेपाली सेनाको पश्चिम पृतनालाई सामग्री हस्तान्तरण गर्न बाँकी रहेको उनले बताए । ‘उहाँले आफैं यहाँ आएर स्वास्थ्य सामग्री हस्तान्तरण गर्न नसके पनि उहाँले पठाएका सामग्री हामीले अग्रभागमा रहेर कोरोनासँग लडिरहेकाहरूलाई प्रदान गरेका छौं,’ खड्काले भने, ‘यसले अलिकति भए पनि राहतको महसुस हुने विश्वास लिएका छौं ।’
खड्काले अस्पतालहरूका लागि अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटरका साथै मास्क, सेनिटाइजर, पल्स अक्सोमिटर, ग्लोभ्स प्रदान गरेका हुन् । स्वास्थ्य सामग्री बुझ्दै कर्णालीका प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले संकटका बेला प्राप्त सहयोगले आफूहरूलाई कार्यक्षेत्रमा ठूलो हौसला मिल्ने बताए । त्यस्तै परिवार नियोजन संघ सुर्खेत शाखाका सभापति देवप्रसाद अर्यालले संस्थाको आर्थिक अवस्था कमजोर भएका बेला प्राप्त सहयोगले राहत मिलेको बताए । (साभार कान्तिपुर)