सुर्खेत । सुर्खेतमा प्रदेश स्तरीय पानी परिक्षण प्रयोगशाला स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहकारी मन्त्रालय अन्तरगत पूर्वाधार विकास निर्देशनालयले प्रयोगशाला स्थापना गरेको हो ।
निर्देशनालयबाट एक करोड ७३ लाख ३० हजार लागतमा निर्माण गरिएको उक्त पानी परिक्षण प्रयोगशालाको आज (सोमबार) विभागीय मन्त्री अम्मर बहादुर थापाले उद्घाटन गरेका छन् ।
प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री थापाले प्रयोगशाला स्थापनापछि कर्णालीका नागरिकलाई स्वच्छ पिउने पानीको हक सुनिश्चित हुने विश्वास व्यक्त गरे । ‘पानीको स्वच्छता थाहा नहुँदा नागरिकहरु जस्तोसुकै पानी पिउन बाध्य भएका छन्’ मन्त्री थापाले भने, ‘प्रयोगशाला सञ्चालनपश्चात कर्णालीका सबै क्षेत्रको पानी परिक्षण गरि स्वच्छ पानी पिउने वातावरण सिर्जना हुने विश्वास लिएको छु ।’
खानेपानी कार्यालय मातहत राख्नुपर्ने पानी परिक्षण प्रयोगशाला प्राविधिक कारणले हाल पूर्वाधार निर्देशनालय मातहत रहेको मन्त्री थापाले जानकारी दिए ।
आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट अन्र्तगत एक करोड ७३ लाख ३० हजार लागतमा पानी प्रयोगशाला स्थापना गरिएको निर्देशनालयका प्रमुख प्रभाकर प्रसाद सिंहले जानकारी दिए ।
पानीजन्य रोगको पहिचान र त्यसको निरुपण गर्न सहयोग हुने उद्देश्यले पानी परिक्षण प्रयोगशाला स्थापना गरिएको प्रमुख सिंहले बताए ।
प्रयोगशाला पूर्णरुपमा सञ्चालन हुनका लागि तीन जनाको जनशक्ति आवश्यक भएको निर्देशनालयका अधिकृत हरिशर्मा धितालले जानकारी दिए । उनका अनुसार पानी परिक्षण प्रयोगशालाको लागि ‘क्यामेस्ट्रि’ विषयमा ‘एम एस सी’, ल्याव र एक जना हेल्परको दरबन्दी सिर्जना गरिसकिएको छ । सोही दरबन्दी अनुरुप भदौं मसान्तभित्र जनशक्ति भर्ना गरिने मन्त्री थापाले उद्घाटन कार्यक्रममार्फत प्रतिवद्धता व्यक्त गरे ।
निर्देशनालयका अनुसार सुर्खेतमा संघिय सरकार मातहतको पानी परिक्षण प्रयोगशाला भएपनि ठूलो क्षमताको पानी प्रयोगशाला पहिलो पटक स्थापना गरिएको हो ।